माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महोत्तरीका नेताहरू ?

लोकपथ
312
Shares

महोत्तरी । मंगलबार माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्ज शंकर महतोसहित एक दर्जन युवाहरू काठमाडौं पुगेर एमाले प्रवेश गरे । वाइसीएल नेपालको राष्ट्रिय सम्मेलन हुँदै गर्दा वाइसीएलमै आवद्ध महोत्तरीका युवाहरूलाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा भित्र्याए ।

यसअघि माओवादीका केन्द्रीय सदस्यसमेत रहेका टेकबहादुर बलम्पाकी र युवा नेता फाल्गुन सुस्लिङ मगर एमाले प्रवेश गरिसकेका छन् । बलम्पाकीलाई ओलीले १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । जुन निर्णयप्रति एमाले संस्थापन पक्ष सन्तुष्ट बन्न सकेका छैन ।

एमालेभित्र गुट, उपगुट निर्माण गरी बलम्पाकी र फाल्गुन सुस्लिङ मगरले कमजोर बनाउँदै लगेको संस्थापन पक्षको आरोप छ । एमाले प्रवेश गरे पनि नेताहरू अझै संस्थापन पक्षको चुलोचौकामा पुग्न सकेका छैनन् । केन्द्रबाट अधिवेशनसम्मका लागि जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नेता बलम्पाकीलाई संस्थापन एमालेले स्वीकार गर्न सकेन । फलस्वरूप जिल्ला अधिवेशन गराउन नेता बलम्पाकी पटक-पटक असफल मात्र भएनन् इन्चार्जबाटै हटे । एमाले जिल्ला अधिवेशन ५ र ६ असोजलाई निर्धारण गरिएको छ । बलम्पाकीलाई हटाएर अर्का केन्द्रीय सदस्य सरोज यादवलाई इन्चार्ज बनाइएको छ ।

पूर्वमाओवादीकै कारण घरझगडा बढिरहेको आरोप लागिरहेका बेला मधेस प्रदेश कमिटी सदस्य शकर महतो तथा वाइसिएयल महोत्तरी इन्चार्ज मनोज थापा, निरज अधिकारीहरूलाई एमालेले कसरी स्वीकार गर्ला भन्ने प्रश्न उब्जेको छ । शंकर महतो गिरिराजमणि पोखरेल निकट हुन् । पोखरेल शिक्षामन्त्री हुँदा उनी झन्डै पाँच वर्ष उनको सचिवालयमा बसेर काम गरेका थिए ।

निरज अधिकारीले पनि माओवादीबाटै आफ्नो राजनीतिक हैसियत बनाएका हुन् । २०७४ को निर्वाचनमा वडा सदस्य जितेका अधिकारीले २०७८ को निर्वाचनमा वडाध्यक्षका लागी दाबी गरेका थिए । जनमोर्चा धारका अधिकारीलाई संस्थापन पक्षले टिकट नदिएपछि उनले माओवादी छाडेको घोषणा गरेका थिए । वडाध्यक्षमा बागी उम्मेदवारी दिएका अधिकारी अर्का स्वतन्त्र उम्मेदवार भोला खड्कासँग पराजित भएका थिए । वाइसीएल महोत्तरीका संयोजक मनोज थापालाई पनि सम्मानित पदमै हैसियत दिएको थियो ।

एमाले महोत्तरीका नेताहरू माओवादी छाडेर आएका युवाहरूसँग त्यति धेरै खुसी छैनन् । गुटगत राजनीति गर्न सिकेका नेताहरू एमालेमा भाँडभैलो गर्लान् कि भन्ने एमाले संस्थापन पक्षको चिन्ता छ । एमाले केन्द्रीय सल्लाहकार सरिता ढुंगाना जिल्लामा पार्टी कमजोर बन्नुमा पूर्वमाओवादीहरूलाई दोष दिन्छिन् ।

तर मंगलबार एमाले प्रवेश गरेका शंकर महतो पार्टी बलियो बन्न सहयोग गर्ने बताउँछन् । एमालेले प्रदेश सभा सदस्यको टिकट दिने सुनिश्चित गरेपछि महतो पार्टी प्रवेश गरेको चर्चा चलेको छ ।

वाइसिएलको केन्द्रीय अध्यक्ष नपाउने भएपछि महतो एमाले प्रवेश गरेको स्रोतले बताएको छ । माओवादीमा अथाह अवसर दिँदादिँदै पनि एकैचोटि ठूलो भाग खोजेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?