माओवादीमा पेचिलो बन्दै पदाधिकारी चयन, महासचिवमा ७ जनाको दाबी

लोकपथ
156
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पदाधिकारी चयनको विषय पेचिलो बन्दै गएको छ । बैठक पटकपटक सर्दै जाँदा निर्णयप्रक्रिया थप जटिल बन्दै गएको हो । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बिहान पदाधिकारी टुंग्याउन भन्दै बसेको स्थायी कमिटी बैठक पनि बिना निष्कर्ष सकिएको छ ।

स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका छन् । उनीहरूले महासचिवमा आकांक्षा राखेपछि यो विषय थप पेचिलो बन्दै गएको हाे । माओवादीले गत पुसमा महाधिवेशन गरे यता अहिलेसम्म पदाधिकारी चयन हुन सकेको छैन । माओवादी केन्द्रमा यसअघि महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेपछि दुईजनामध्ये कसलाई रोज्ने भन्नेमा प्रचण्डले बुधबारको बैठकमा विकल्पको रूपमा देव गुरुङको प्रसंग निकालेका थिए ।

शुक्रबारको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन,’ महराले भने, ‘ शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने गरी आजको बेठक टुंगिएको छ । छलफल लगभग टुंगिएको छ । खाली अन्तिम निष्कर्ष मात्रै बाँकी हो ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताले आज टुंग्याउन नसकिएको उनको भनाइ थियो । पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठोस निर्णय गर्न सकेको छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेको भन्दै बिहीबार नै सकिने बताए थिए तर, बैठक विभिन्न कारण देखाएर पटकपटक सर्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?