‘तीज गीतले तीजकै मौलिकता बोक्नुपर्छ’ (भिडियोसहित)

हिन्दू धर्मावलम्बी महिलाहरुको महान चाड तीज पर्व घरआँगनमा आइसक्यो । उसो त लोकदोहोरी क्षेत्रका कलाकारलाई यतिबेला भ्याइनभ्याइ छ । तीज गीत/भिडियो बजारमा ल्याउनेदेखि देश विदेशका कार्यक्रमहरुमा कलाकारहरुको बाक्लो सहभागिता देखिन थालेको छ । त्यही मेलोमा छन्– गायक खुमन अधिकारी पनि । विशेषगरी तीजमा व्यस्त रहने गायक अधिकारीका यस वर्ष चर्चा पाएका ‘जय भोले’ ‘मेरो परानलाई’ ‘के ग-यो रुपैले’ जस्ता गीतले झनै व्यस्त बनाएको छ । उनै अधिकारीसँग लोकपथकर्मीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंलाई त तीज लागिसक्यो है ?

हो नि । हामी कलाकारलाई तीज आउनुभन्दा एक महिनाअघि देखि नै तीज लाग्छ । त्यसैले यस वर्ष पनि तीजको गीत गाइयो, भिडियोमा पनि नाचियो । अब तीजका सांगीतिक कार्यक्रममा सहभागी हुँदैछु ।

यसपाली कतिवटा तीज गीत गाउनु भयो ?

यसपाली मैले १२ वटा तीज गीत गाएँ । जसमध्ये १० वटामा मैले नै निर्माण गरेँ भने २ वटा चाहिँ अन्य साथीहरुले निर्माण गर्नुभएको गीतमा सहकार्य गरेँ ।

केही वर्ष अघिसम्म तपाईंका दर्जनौं तीज गीत बजारमा आउँथे यसपाली त १२ वटामै खुम्चिनु भएछ त ?

होइन, पहिला र अहिलेको अनुपातमा मैले १० वटा पनि बढी गरेको हो । खासमा मैले ३÷४ वटा गर्थे बढीमा ५ वटा सम्म गर्ने हो अहिले चाहिँ बढी गीत रेकर्ड गरेको हो । कुनैबेला २७ वटा पनि गीत रेकर्ड गरेको छु । जति धेरै गीत रेकर्ड गरेपनि दर्शक श्रोताको माया पाउने भनेको २, ३ वटा मात्रै हो । त्यसैले संख्या बढाउनेभन्दा पनि गुणस्तरीयतामा बढी ध्यान दिनुपर्छ भन्ने लागेर धेरै गाइएन ।

तपाईँ गाउन मात्रै होइन नाच्न पनि उत्तिकै माहिर हुनुहुन्छ, नाच्न चाहिँ कहिलेबाट सुरु गर्नुभयो ?

गायन त मुख्य भइहाल्यो । सानोमा गाउँघरतिर भजन, किर्तन, स्कुलका सदनात्मक कार्यक्रमहरु, अतिरिक्त क्रियाकलापहरुमा र क्लबस्तरीय कार्यक्रमहरुमा गाउँले पाराले नाच्थेँ । खासै नाच्न त आउँदैन, अहिलेसम्म कतै डान्स सिकेको पनि छैन । तर, नाच्ने इच्छा लाग्छ त्यसैले आफूले गाएका कुनै–कुनै गीतहरुमा नाच्छु । यो शौख मात्र हो ।

पछिल्लो समय तीज गीतमा पुरुष कलाकारहरु हाबी भए जसले गर्दा तीज गीत रत्यौली भयो भन्ने आरोप पनि छ । यसमा तपाईंका धारणा के छ ?

सरासर गलत हो । हुन त कतिपय गीतहरुले रत्यौलीको छनक दिइरहेका होलान् । तर, पुरुषले गाएर रत्यौली भएको भने होइन । किनभने यसमा त पुरुषहरुले महिलालाई सहयोग गरेको हो भनेर बुझ्नुपर्छ । अझै भन्ने हो भने, पुरुष कलाकारले नगाई तीज गीत चल्ने सम्भावना नै छैन ।

तर, विषयवस्तुको सीमाभन्दा बाहिर जान भने हुँदैन । सबैले सीमाभित्र रहेरै गीतको सिर्जना गर्नुपर्छ । रत्यौलीमा कस्ता शब्द प्रयोग गरिन्छन् र तीजमा कस्ता शब्द प्रयोग गरिन्छन् भन्नेबारे हामी सर्जकले पनि राम्रोसँग बुझ्नुपर्छ । त्यसैले सबैले यसलाई आत्मसाथ गर्नुपर्छ र पुरुषले गाएर यो रत्यौली हुने होइन, रत्यौली हुने भनेको केबल विषयवस्तु र शब्दले हो ।

वास्तवमा तपाईँले बुझेको तीज गीतको मर्म चाहिँ के हो ?

एउटा झ्याउरे गीत गाएर तीज गीत हो भन्न मिल्दैन । तीज गीतमा तीजकै मौलिक भाका हुनुपर्छ । गीतको लय सुन्ने बित्तिकै दर्शक श्रोतालाई तीजको रौनकताले छोपोस् । अर्को कुरा, तीज गित विषयवस्तुमा आधारित हुन्छ । छुट्टै खालको विषयवस्तु बनाएर त्यसलाई तीजको गीत मान्न सकिँदैन ।

हुन त तीजका गीतमा माया प्रेमका कुरा पनि राखिन्छ । मैले पनि त्यस्ता थुप्रै गीत बनाएको छु । तर, मैले बनाएको गीतमा कतै न कतै तीज झल्किएकै हुन्छ । तर, आज भोलि अरु बेला चल्ने जस्तो गीत निकाले पनि तीज भन्ने चलन छ त्यो चाहिँ राम्रो होइन ।

यसअघिका २ वटा तीज कोरोना महामारीले गर्दा घरभित्रै खुम्चिनुप-यो । यसपालीको चाहिँ योजना के छ ?

यसअघिका दुईवटा तीजमा जसो त तसो व्यवस्थापन गरेर गीत, भिडियो बजारमा ल्याइयो । तर, सांगीतिक यात्रामा भने जान सकिएन । जसले गर्दा आर्थिक रुपमा केही कठिनाइहरु आए । तर, अहिले केही सहज भने पक्कै भएको छ ।
यसपाली म तीज विशेष सांगीतिक कार्यक्रमका लागि तीनवटा देशमा जाँदैछु ।केही समयपछि अस्ट्रेलियामा हुने कार्यक्रममा जाँदैछु । त्यसपछि २० अगष्टमा सिड्नीमा हुने कार्यक्रममा सहभागी हुन्छु । त्यसपछि २४ तारिखका दिन नेपाल फर्कन्छु । त्यसपछि दुवई जान्छु त्यहाँबाट पुनः २९ तारिखका दिन दिल्ली पुग्छु । यसपालीको तीज दिल्लीमा मनाएर फर्कन्छु । जे होस् २ वर्षको तीज घरभित्रै बसेर बित्यो । तर, यसपाली भने विदेशिने बाटो खुलेको छ । यसले केही हदसम्म हामी कलाकारहरुलाई चलायमान हुन सहज बनाउँछ ।

विदेशतिर चाहिँ नेपाली गीतसंगीतको आकर्षण कस्तो छ ?

एकदमै राम्रो छ । किनभने विदेशमा पनि नेपाली दाजुभाई दिदीबहिनीले नै गर्ने कार्यक्रम हो । त्यसैले उहाँहरुले नेपाली गीत संगीतलाई गर्ने माया बयान गर्न नसकिने हुन्छ ।

व्यस्तताका कारण आफ्नो लागि समय दिन नभ्याउनु भएकाहरुका लागि पनि हामी कलाकारहरु गएपछि रिफ्रेसमेन्टका लागि कार्यक्रममा सहभागिता जनाउन आउनुहुन्छ । त्यतिबेला उहाँहरुले देखाएको माया, सम्मान अनि नेपाली गीत संगीतप्रतिको क्रेज देख्दा निकै खुशी लाग्छ ।

तपाईंले स्टेजमा गीत गाइरहँदा दर्शकहरुले धेरैपटक गाइदिन अनुरोध गर्ने तीज गीत चाहिँ कुन हो ?

‘भँगेरी चरीले मैदानमा लरी लरर’ गीत जतिपटक गाएपनि दर्शकले भयो भन्नुहुन्न । यो सँगै ‘आज त भेट्न आउँदिन है काली’ ‘यो मान्छे चिन्छौ’ लगायतका गीतमा दर्शको चर्को हुटिङ आउँछ ।

भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?