प्रतिनिधि सभाबाट नागरिकता विधेयक, २०७९ दोस्रोपटक बहुमतले पारित

लोकपथ
130
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक दोस्रोपटक बहुमतले पारित भएको छ । संसदमा बिहीबार दिनभर भएकाे छलफलपछि प्रतिनिधिसभाले नागरिकता विधेयक, २०७९ पारित भएकाे हो ।

प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदानको माग गरेपनि ध्वनि मतका आधारमा नागरिकता विधेयक पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस्’ भनि गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथि सदनमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले धारणा राखेपछि गृहमन्त्री बालकृष्ण खाँणले उठेका प्रश्नहरुको जवाफ दिएका थिए । गृहमन्त्री खाँणले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदले धारणा राखेका थिए ।

उनीहरुले सरकारले ल्याएको नागरिकता विधेयक उपयुक्त भएकाले पारित गरिनुपर्ने धारणा राखेका थिए । प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे । उनीहरुले वैवाहिक अंगीकृतका विषयमा दलीय सबै दलहरुबीच साझा सहमति जुटाएर पारित गरिनुपर्ने धारणा राखेका थिए ।

प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ मत दिएका थिए। त्यस्तै विपक्षमा ६० सांसदले मत दिएका थिए।

गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?