वामपन्थी आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्नुपर्ने भएको छ : प्रचण्ड

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको पनि बताएका छन् । उनले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गरे । उनले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताए । उनले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताए । अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताए ।

अध्यक्ष दाहालले यस्ता व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताए । उनले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यक्ता रहेको बताए । उनले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ । हामीले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्धत हुन थालेका छौँ ।’ उनले सामूहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे । उनले पार्टीका नेताहरुको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे ।

उनले भने, ‘हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ । यसलाई हल गर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहीराखे त्यसको औचित्य सिद्धिन्छ ।’

अध्यक्ष दाहालले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । उनले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?