सुरक्षा योजना बनाएर पठाउन सरकारलाई निर्वाचन आयोगको निर्देशन

लोकपथ
130
Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारी (सिडीओ) सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुको पदास्थापना गरि विवरण पठाउन निर्देशन दिएको छ ।

आयोगले आज (बुधबार) आगामी भदौ २० गतेसम्म स्वीकृत दरबन्दी बमोजिम सिडीओलगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूको पदस्थापना गरीे भदौ २५ गते भित्र आयोगमा विवरण उपलब्ध गराउन गृह–सचिव तथा गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापन गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नका लागि अन्तर निकाय समन्वय गर्न, निर्वाचनको क्रममा अनुगमन गर्न, निर्वाचन आचारसंहिता जिल्ला अनुगमन समिति, जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समिति र जिल्ला निर्वाचन सुरक्षा समिति लगायतका समितिहरूमा समेत प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण रहने भएकोले गृह मन्त्रालयलाई उक्त निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, आयोगले सुरक्षा योजना बनाएर पेश गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्देशन दिएको छ । भिन्दाभिन्दै चार बुँदामा आयोगले सरकारलाई निर्देशन दिएको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन, २०६४ सालदेखि २०७९ साल वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्यांकसमेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अवरोध सृजना भएका अति संवेदनशील तथा संवेदनशील मतदान स्थल तथा मतदान केन्द्रहरूको तथ्यगत विवरण तयार गरी सोही अनुसारको सुरक्षा योजनाको प्रबन्ध गर्न र कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी सोहीअनुसार सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउ भनिएको छ ।

त्यस्तै, विशेष कारणबस कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना भएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने व्यहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिने र सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाको लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी तथा स्थानीय तह निर्वाचन, २०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई सेवा निवृत्त हुँदाका पद अनुसार नियुक्ति दिई परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउने निर्देशन दिईएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?