काठमाडाैं । बन्चरेडाँडामा फाेहाेर फाल्न अवरोध गर्नेलाई वार्तामा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गरेका छन् ।
थापाले आफ्नाे फेसबुकमा एउटा स्टाटस राख्दै ‘अवरोध नगरिदिनुहोस् । आउनुहोस् सबै बसौँ । संवाद र समीक्षा गरौँ । समाधान निकालौँ’ भन्दै आग्रह गरेका हुन् ।
फोहोरले काठमाडौं अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहे महामारी फैलन सक्ने सम्भावना रहेकाेप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
‘कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषय भएकाे तथा सङ्घीय सरकारको क्षेत्राधिकारभित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको र यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो’ उनले फेसबुकमा लेखेका छन्, ‘सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो।’
थापाले सम्झौता कार्यान्वयनमा कहाँ-कहाँ समस्या भए । कहाँ कमजोरी भए समीक्षा गरौँ । सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ । सबैले सहयोग गरौँ । समाधान निकालौँ भन्दै सबैमा आग्रह गरेका छन् ।
यस्ताे छ गगन थापाकाे फेसबुक स्टाटस :
काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ। अतः सिससडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु । कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।
निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ । हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छरु केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौँ।
कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पुरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ।हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ।
नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु । पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह । अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।
सम्झौता कार्यान्वयनमा कहाँ-कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया