नबिल बैंकले ल्यायो उद्यमी लक्षित क्यू आर मर्चेन्ट व्यावसायिक कर्जा

लोकपथ
0
Shares

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोन लोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोन लोन–क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् गरेसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनैपनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।

नबिल बैंकले युएनसिडिएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँच वटा क्यू आर कारोबारबाट १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।

“यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए । उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।

सुरुवाती चरणमा व्यवसायीहरुले एक लाख सम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ । यसभन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोन लोन ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?