मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की

लोकपथ
78
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।

सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेसनले आज आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताएका हुन् ।

उनले भने, ‘नेपाल सम्भावना भएको मुलुक हो, यहाँ जलस्रोत, पर्यटन, कृषिमा प्रचुर सम्भावना छ । त्यसको भरपुर उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुलुकका रूपमा विकास गर्दै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै रोजगार बनाउने हाम्रो योजना छ ।’

मन्त्री कार्कीले विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस पार्टीबाट नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखलाई निर्देशनसमेत दिए ।

उनले भने, ‘जनताको मन नजितिकन प्रतिनिधि हुन सकिँदैन, तपाईंहरूले निर्वाचनको समयमा जनतासामु गर्नुभएको वाचा पूरा गर्नुपर्छ । त्यसका लागि सीमित स्रोत/साधनबीच योजना बनाएर प्राथमिकताका आधारमा काम गर्नुपर्ने हुन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्नुहो्स् ।’

मन्त्री कार्कीले सूचना, सञ्चार र प्रविधिको विकासले संसार गाउँमा परिणत भइसकेको उल्लेख गर्दै सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकको समग्र विकास गर्नुपर्नेमा जोड दिए । फाउन्डेसनका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद रमेशजङ्ग रायमाझीले फाउन्डेसनले भट्टराईका नामबाट विराटनगरमा विद्यालय स्थापना गर्ने योजना तयार गरेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?