अछाममा सवारी दुर्घटनाबाट तीन वर्षमा २८ जनाले ज्यान गुमाए

लोकपथ
117
Shares

अछाम । अछाममा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको पाइएको छ । गएको तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म ३ वर्षको अवधिमा २८ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका प्रहरीको तथ्यांक छ । तीन वर्षको अवधिमा २८ जनाको ज्यान गुमेकोमा सबै भन्दा बढी गत आर्थिक वर्ष २०७८/७९ मा मात्र १५ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा तीनवटा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा चारवटा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु र २४ जना घाइते भएकोमा गत आर्थिक वर्ष २०७८/७९मा १०वटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । यो अवधिमा ८१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

प्रहरी निरीक्षक विष्टका अनुसार सबै भन्दा बढी मंगलसेन नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा सवारी दुर्घटना भएका छन् । कच्ची सडक, सवारी चालक अनुमति पत्रबिना नै गाडी चलाउनु, क्षमता भन्दा बढी यात्रु बोक्नु, तीव्र गतिमा सवारी चलाउनु, लागूपदार्थ सेवन गरेर सवारी चलाउनु लगायतका कारण जिल्लामा सवारी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?