गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँटको मोडालिटीबारे छलफल हुने

लोकपथ
104
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक आजपनि बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा सिट बाँडफाँटबारे टुंगोमा पुग्ने बताइएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने सहमति भएसँगै सिट बाँडफाँटका लागि कार्यदल गठन गरेर काम भइरहेको छ ।

गठबन्धनका शीर्ष नेताहरुले साउन मसान्तसम्मको समयावधि दिएर कार्यदललाई सिट बाँडफाँटको मोडालिटी तय गर्न जिम्मेवारी दिएका थिउ । यसअघि गठबन्धन दलमा भदौ पहिलो साता सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको थियो ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेस महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?