एक बर्षमा भित्रियो १० खर्ब रेमिटेन्स

लोकपथ
52
Shares

काठमाडौं । रेमिटेन्स अर्थात वैदेशिक रोजगारीबाट प्राप्त आयमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी १२ महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८–०७९ मा विप्रेषण आप्रवाहमा सुधार देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिटेन्स चार दशमलव आठ प्रतिशतले वृद्धि भई १० खर्ब सात अर्ब ३१ करोड पुगेको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौं दशमलव आठ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह आठ दशमलव दुई प्रतिशतले बढेकोे थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ६२ दशमलव आठ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा एक सय ९८ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ४६ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर चार दशमलव तीन प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौं दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?