१२ महिनाको अर्थतन्त्र : १९ खर्ब २० अर्बको आयात हुँदा दुई खर्बको निर्यात, १७ खर्बको व्यापार घाटा

लोकपथ
52
Shares

काठमाडौं । मुलुकको निर्यात बढेपनि वस्तु तथा सेवाको आयात उच्च हुंदा व्यापार घाटा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी १२ महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८–०७९ मा कुल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले वृद्धि भई दुई खर्ब तीन करोड पुगेको छ । तर यस संगै आयात पनि बढेका कारण कुल बैदेशिक व्यापार घाटा १७ खर्ब रुपैयाँ नाघेको छ ।

प्रतिवेदन अनुसार अघिल्लो वर्ष यस्तो निर्यात ४४ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४९ दशमलव नौं प्रतिशत र ३० दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २० दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, ऊनी गलंैचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयात २४ दशमलव सात प्रतिशतले वृद्धि भई १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३ दशमलव दुई प्रतिशत र ३६ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ ।

आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७ दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १० दशमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात नौं दशमलव दुई प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब १३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ९० अर्ब ५४ करोड बराबरको भएको थियो ।

आर्थिक वर्ष २०७८–०७९ मा खुद सेवा आय एक खर्ब आठ अर्ब १२ करोडले घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको थियो । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय तीन सय ४६ दशमलव पाँच प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय सात अर्ब २७ करोड रहेको थियो ।

प्रतिवेदन अनुसार समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय एक सय ९६ दशमलव सात प्रतिशतले वृद्धि भई ९७ अर्ब ३२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ३२ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोेड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?