‘कम्युनिष्ट आन्दोलनका लागि प्रचण्ड र बाबुरामलाई अब कसैले रोक्न सक्दैन’

लोकपथ
156
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईसँग मिलेरै बामपन्थी आन्दोलनलाई अघि बढाउने बताएका छन् ।

आज नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र अर्का अध्यक्ष महिन्द्रराय यादवसँगको छलफलपछि सो कुरा बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट र बामपन्थी आन्दोलनका लागि प्रचण्ड र बाबुराम एकै ठाउँमा रहने कुरा महत्वपूर्ण रहेको भन्दै अब कसैले पनि छुटाउन नसक्ने दाबी गरे ।

‘बामपन्थी आन्दोलनमा पनि कम्युनिष्ट आन्दोलनमा पनि बाबुराम जी र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो महत्व र अर्थ रहन्छ । हामी उभियौँ अब, कसैले रोकेर रोकिन्न, त्यो ठूलो कुरा हो ।’ प्रचण्डले भने ।

त्यस्तै आगामी दिनमा आफूहरुले माओवादी केन्द्रसहित स(साना दललाई एउटै केन्द्र बनाउने विषयमा छलफल भइरहेको समेत बताए । आफूहरुको एकता नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि भएको जिकिर समेत गरे ।

‘यद्यपी आज नै पार्टी एकता भएको त होइन, चुनाव पछाडी एउटै केन्द्र बनाउने भन्ने समझदारीमा गएका छौँ । अब चुनाव चिह्न, घोषणापत्र सबै साझा भएपछि हामी एक ठाउँमा उभियौँ । यसको नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कुरामा देशलाई आर्थिक विकासतिर लैजाने कुरातिर पनि निकै ठूलो महत्व छ भन्ने प्रष्ट पार्न चाहान्छु ।’ उनले भने ।

बाबुराम नेतृत्वको नेसपा माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा गए पनि गठबन्धनमै रहेको उनले बताए । जनता समाजवादी पार्टी पनि गठबन्धनमा रहेको भन्दै कतै पनि नेसपा गठबन्धन छोडेको कुरा नआएको भन्दै बाबुराम पनि गठबन्धनकै एक हिस्सा रहेको बताए ।

‘गठबन्धन छोड्ने कुरा पनि उहाँहरुले गर्नुभएको छैन । र गठबन्धनले पनि उहाँहरुलाई निकालेको भनेर भनेको छैन । उहाँहरुको जसपाको आधिकारीकता उपेन्द्र यादवजीसँग छ । उहाँसँग पनि कुरा गर्ने र माधव नेपालजीसँग पनि कुरा गर्ने, शेरबहादुर जीसँग पनि कुरा गर्ने भन्ने छ । त्यसो हुनाले हामी सबै मिलेर सल्लाह गरेर अघि जान्छाैँ ।’ उनले भने ।

त्यस्तै हाल गठबन्धनमा आवद्ध दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर कम्युनिष्ट एकता संयोजन समिति बनाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?