पूर्वसहकर्मी भेटेपछि थामिएन बाबुरामको हाँसो !

लोकपथ
3.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अन्नतः पूर्वसहकर्मीहरुसँग सहकार्य गर्न पुगेका छन् । केही समयअघि मात्रै नेपाल समाजवादी पार्टी निर्माण गरेका बाबुराम माओवादी केन्द्रसँग चुनावी सहकार्य गर्न पुगेका हुन् ।

उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी पार्टीसँग छुट्टिएका उनी बाबुराम माओवादीकै चुनाव चिह्नबाट निर्वाचनमा होमिने अन्तिम तयारीमा छन् । बाबुराम २०६४ र ०७० मा निर्वाचन लडेको चुनाव चिह्नबाट निर्वाचनमा होमिन समेत राजी भएका छन् । त्यसको लागि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग भेट समेत गरेका छन् । नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवसहित भेटेका बाबुराम प्रशन्न मुद्रामा देखिएका छन् ।

एउटै निर्वाचन चिह्नबाट चुनाव लड्ने भएसँगै चार नेताको प्रशन्न मुद्राको तस्बिर सार्वजनिक भएको छ । प्रचण्ड, बाबुराम, नारायणकाजी र महिन्द्रराय चारै जना नेताहरु मख्ख परेको तस्बिर सार्वजनिक भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएपछि बाबुराम माओवादीलाई ‘रेड स्टिकर’ लगाएको घरको संज्ञा दिँदै त्यहाँबाट निस्किएका थिए ।

नयाँ विचार र शिद्धान्तसहित नयाँ पार्टी निर्माण गर्न हिँडेका बाबुराम नयाँ शक्ति पार्टी त बनाए तर त्यसलाई विभिन्न राजनीतिक दलहरुसँग एकता गर्दै पुनः माओवादी केन्द्रमा पुगेका हुन् । २०७६ साल वैशाख २३ गते नयाँ शक्तिलाई संघीय समाजवादीसँग एकता गरी समाजवादी पार्टी निर्माण गरेका थिए ।

त्यसपछि २०७७ साल वैशाख १० गते समाजवादी र राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी जसपा निर्माण गरेका थिए । स्थानीय निर्वाचनको निर्वाचनपछि जसपामा समेत फुट आएपछि केही नेताहरुसहित बाबुराम जसपाबाट अलग्गिएर हाल नेपाल समाजवादी पार्टी निर्माण गरेका छन् ।

यसअघि समाजवादी एकता केन्द्र निर्माण गरी छरिएर रहेका -साना पार्टीहरुलाई एकै ठाउँमा ल्याउने तयारीका साथ हिँडेका बाबुराम अब माओवादीमै बिलय हुन लागेको पनि कतिपयको विश्लेषण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?