विद्यार्थीहरुले शैक्षिक कर्जाको उपयोग गर्न पाएनन् : सांसद पहाडी

लोकपथ
91
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) की सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गरिन् ।

उनले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सृजना गर्ने काममा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराईन् । सांसद पहाडीले भनिन्, ‘बजेट भाषणमा सुन्न र पढन पाईने विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै बनिरहेका छन् ।

यथार्थमा विद्यार्थीहरुले शैक्षिक कर्जाको उपयोग गर्न पाईरहेका छैनन् ।’ उनले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि असारे विकासजस्तै औपचारिकता मात्रै बनिरहेको बताईन् ।

उनले भनिन्, ‘स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रलाई प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी स्थायी प्रकारको रोजगार सृजना गर्न ध्यान देओस् भनेर सभामुख महोदयमार्फत् नेपाल सरकारलाई जोडदार माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?