आफूले अवार्ड पाउने भए मात्र कलाकार कार्यक्रममा जाने?

काठमाडौं । अहिले नेपालमा अवार्डको लहर चलेको छ । केही अवार्ड भइसके, केही अवार्ड चाहिँ हुन बाँकी छन् । फिल्ममेकरले आफ्नो स्वार्थका लागि अवार्ड आयोजना गर्ने गरेको भनेर कुरा उठ्ने पनि गरेका छन् । तर यी फुटकर अवार्डले केही कलाकारलाई चाहिँ फाइदा पुगेकै छ ।

कतिपयले त अवार्डको लालचमा चले पनि चलोस्, नचले पनि नचलोस् भनेर हचुवाका भरमा फिल्म बनाउने समेत गर्ने गरेको फिल्मवृतमा टिप्पणी हुने गर्छ । हल्ला जति चले पनि फिल्मका यी फुटकर अवार्ड भने चलिरहेका छन् ।

अझ रमाइलो कुरा त के छ भने तिनै अवार्डमा पनि अवार्ड पाउने कलाकार मात्र उपस्थित हुने गर्छन् । जसका कारण अवार्डको कुनै रोचकता नै देखिन्न । दोस्रो कुरा अवार्ड पनि यति धेरै हुन्छन् कि, कलाकार आफै कन्फ्युजमा पर्छन् । यसमाथि पनि कलाकार अवार्डका कार्यक्रममा खासै उपस्थित नहुँदा अवार्ड समारोहहरु कुनै विद्यालयको सामान्य कार्यक्रमजस्तो हुन्छन् । अवार्डले फिल्मकर्मीको मात्र होइन, दर्शकको पनि ध्यान तान्नुपर्ने हो । तर दर्शकले अवार्ड त परको कुरा समाचार पनि पढ्न रुचाउँदैनन् ।

अहिले त झन् कलाकारमाथि के आरोप लाग्न थालेको छ भने, आफूले अवार्ड पाउने पक्का भए अवार्ड समारोहमा आउने, नपाउने भए आउँदै नआउने । साँच्चै भन्नुपर्दा अवार्डले कलाकारको साख मात्र गिराएको छैन, कलाकारलाई बिकाउ पनि बनाउँदै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?