नेपाली र अमेरिकी सेनाबीच आजबाट संयुक्त सैन्य अभ्यास हुँदै

लोकपथ
91
Shares

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजबाट सुरु हुने भएको छ । ‘एक्स व्यालेन्स नेल २२–५५३०’ नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

२०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स व्यालेन्स नेल २२–५५३०’ विगत सरह नै यस वर्ष उनन्चालिसौं संस्करण हुन लागेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छन् ।

नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम र अभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निर्णय प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित हिजो नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?