लोकपथ टप फिप्टिन : जताततै नागरिकता विधेयककै चर्चा, बन्चरेडाँडामा फोहोरकाे आन्दाेलन फिर्ता

लोकपथ
273
Shares

१. राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रतिनिधि सभामा फिर्ता गरेसँगै राजनीतिक वृत्तमा हलचल, मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिले नागरिकता विद्येयकमा पठाएको संदेशबारे जानकारी गराइने ।

२. मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा हात पारेको दाबी ।

३ नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा गरायो दल दर्ता, माओवादी केन्द्र र समाजवादी पार्टीले एउटै चुनाव चिन्ह प्रयोग गर्नेबारे छुट्टै निर्णय हुने ।

४. देशको स्थायित्व र विकासका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरिएकाले अब समृद्धिमा लाग्नुपर्नेमा जोड ।

५. दुई सय ५० जना प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फालियो फोहोर, फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध प्रहरीमा उजुरी, स्थानीयद्वारा भदौ १ गतेदेखि गर्ने भनिएको आन्दोलन फिर्ता ।

६. नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको प्रतिक्रिया ।

७. श्रममन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच भेटवार्ता, दुई देशबीचको श्रम सम्झौताबारे छलफल, इजरायलले थप १ हजार नेपाली कामदार लैजाने ।

८. नौ बुँदे घोषणा पत्र जारी गर्दै सकियो राष्ट्रिय युवा सम्मेलन, युवावर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्नेमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतको जोड ।

९. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरु, गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनको चुनौती र त्यसलाई सामना गर्ने उपायबारे छलफल ।

१०. पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि, ४७४ जना कोरोना संक्रमणमुक्त, ३० दिनमै ३७ जनाको मृत्यु ।

११. लगातार ६ दिनसम्म घटेको सेयर बजारमा सोमबार भने हरियाली, नेप्से परिसूचक ५५.८८ अंकले बढ्यो, २ अर्ब ४३ करोडको सेयर किनबेच ।

१२. भारतले मनायो ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस, नेपालस्थित भारतीय राजदूतावासले पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनायो ।

१३. राष्ट्रपतिलाई भेट्न अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान आएसँगै चीनले फेरि सुरु गर्यो ताइवान वरपर सैन्य अभ्यास, पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग भेटघाट गर्ने ।

१४. नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने, किरण चेम्जोङको कप्तानीमा रहने टोलीमा विमल, अन्जन र अनन्त लगायतका अनुभवी खेलाडीको पुनरागमन ।

१५ . स्पेनिस लालिगा अन्तर्गतको फुटबल खेलमा आज गेटाफे र एथलेटिको मड्रिड भिड्दै, घरेलु मैदानको फाइदा उठाउँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा गेटाफे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?