अर्थमन्त्री शर्माले भटे महावीर पुन

लोकपथ
182
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका छन् ।

भेटकाक्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताए । “कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउन र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविष्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको छ’’–उनले भने ।

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविष्कार गर्ने पनि बताए । कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताउदै पुनले भने, – कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताए । अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?