ट्राफिक प्रहरीले गर्यो १ सय १८ जना विद्यार्थीलाई कारवाही

लोकपथ
468
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरुलाई लक्षित गरेर विभिन्न अभियान सञ्चालन गर्दै आई रहेको छ । जसमध्ये आज (सोमवार) बिहान कलेजका विद्यार्थीहरुलाई लक्षित गर्दै ट्राफिक चेकजाँच अभियान सम्पन्न गरेको छ ।

चेकजाँचका क्रममा सवारी चालक अनुमती पत्र नभएका ६१ जना , सवारी दर्ता किताव नभएका ३९ जना र तीन जना सवार ७ जना विधार्थीहरू कारवाहीमा परेका छन् । त्यस्तै, हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विद्यार्थीहरू कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्क हेर्ने हो भने उपत्यका भित्र १० हजार ७ सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन । जसमध्ये ८ हजार ३ सय ६४ वटा दुई पांग्रे सवारी साधन रहेका छन । सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश दुई पांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन ।

उमेर समुहका आधारमा हेर्ने हो भने १७ वर्ष देखि ३५ वर्ष सम्मका दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्ताको मृत्यु भएकोे तथ्याङ्कले रहेको छ । यसरी सबै भन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकोले दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारवाही गर्न सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?