सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती

लोकपथ
130
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्स पी नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ बैंक स्मार्ट एक्स पी मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटपजस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने छन् । यि सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गर्नुपर्ने तथा नयाँ प्रयोगकर्ताहरुले एपल एप स्टोर तथा गुगल एप स्टोरबाट सिद्धार्थ बैंकको एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने छन् । आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार सिद्धार्थ बैंक स्मार्ट एक्स पी मार्फत ग्राहकहरुले पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न, नयाँ चेकबुक अनुरोध गर्न, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न एवम् निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्ने छन् । यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्यार कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने छन् ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ आगामी दिनहरुमा यस मोबाईल बैंकिङ्ग सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्रि र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर ४ एक्स्टेन्सन् काउन्टरसहित १ सय ९० वटा शाखा, १ सय १७ शाखारहित बैंकिङ्ग सेवा, १ हजार ७ सय भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यु आर मर्चेन्ट मार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?