फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन

लोकपथ
78
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।

मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ । नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन वि.सं.२०१५ फागुन ७ गतेबाट सुरु भई वि.सं.२०१६ वैशाख २१ गते मा सम्पन्न भएको इतिहास छ ।

कुल १०९ प्रतिनिधिसभा सदस्यका लागि भएको उक्त निर्वाचनबाट एक जना महिलाको प्रतिनिधित्व रह्यो । त्यसपछि हालसम्म विभिन्न मितिमा बालिक मताधिकारका आधारमा राष्ट्रिय निर्वाचन भएका निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ । आम निर्वाचनका रुपमा पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था रोज्नका लागि भनी मुलुकमा वि.सं.२०३७ वैशाख २० गते राष्ट्रिय जनमत संग्रह भएको थियो ।

बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा वि.सं.२०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनका रुपमा तीन चरणमा वि.सं.२०४३ वैशाख २९, जेठ ५ र १२ गते आमनिर्वाचन भएको हो । तीस वर्षे पञ्चायती व्यवस्था अन्त्य भई मुलुकमा राजनीतिक परिवर्तनका साथ प्रजातन्त्रको पुनः स्थापना भएसँगै वि.सं. २०४८ वैशाख २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । सोही निर्वाचनसँग जोडिएर मुलुकका केही स्थानमा विसं २०४८ माघ २६ गते र वि.सं.२०५० माघ २५ गते उपनिर्वाचन गरियो ।

नेपाली काँग्रेसको बहुमतमा रहेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधिमा जाने घोषणापछि २०५१ कात्तिक २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । मुलुकको अस्थिर राजनीतिक परिस्थितिका कारण प्रतिनिधिसभा निर्वाचन घोषणा भई वि.सं. २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनपछि मुलुकका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०५६ मंसिर २३ गते भएको तथ्यांक छ ।

नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्ष तथा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा वि.सं.२०६४ चैत २८ गते संविधानसभा सदस्य निर्वाचन भयो । सोही संविधानसभा निर्वाचनसँग जोडिएर वि.सं.२०६५ चैत २८ गते उपनिर्वाचन भएको थियो । बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा दोस्रो संविधानसभा सदस्य निर्वाचन वि.सं.२०७० मंसिर ४ गते भयो भने केही स्थानमा उपनिर्वाचन वि.सं.२०७१ असार ८ गते र चैत २८ गते भए ।

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन दुई चरणमा वि.सं.२०७४ मंसिर १० र २१ गते सम्पन्न भयो । नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएका अरू राष्ट्रियस्तरका निर्वाचनमा वि.सं.२०७४ माघ २४ गतेको राष्ट्रियसभा सदस्य, वि.सं.२०७४ चैत ४ गतेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई पनि लिने गरिएको छ ।

विसं २०७६ मंसिर १४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन तथा वि.सं.२०७६ माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनलाई पनि राष्ट्रियस्तरको निर्वाचनका रुपमा हेरिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?