ईन्दिरा चिनी मिलले उखु किसानलाई दियाे ७० लाख भुक्तानी

लोकपथ
182
Shares

परासी । विगत ४ बर्षदेखि बक्यौता रहेको उखुको भुक्तानी रकम किसानहरुले पाउन थालेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ८ मा रहेको ईन्दिरा सुगर एण्ड एग्रो ईन्डष्ट्रिज प्रालिले विगत ४ बर्षदेखि रोकि राखेको बक्यौता रकम भुक्तान गर्न थालेपछि किसानहरुमा खुशी थपिएको छ ।

प्रतापपुर गाउँपालका अध्यक्ष उमेशचन्द्र यादवले किसानको भुक्तानी दिलाउन मिल संचालक राकेश अग्रवाल संग विशेष पहल गरेपछि यहि श्रावण मसान्तसम्म भुक्तानी गरिसक्ने मिल संचालकले प्रतिबद्धता जाहेर गरेका थिए । सोही अनुरुप मिल संचालकले अहिलेसम्म किसानहरुको ७० लाख रुपैया भुक्तानी दिई सकेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

अध्यक्ष उमेशचन्द्र यादवले, मिलबाट किसानहरु अझै करिब ८० लाख रुपैया भुक्तान पाउनु पर्ने उखु उत्पादक कृषक संघको तथ्याङ्क रहेको र उक्त भुक्तानीका लागि मिल संचालकले यहि श्रावण महिनाभित्रै भुक्तान दिईसक्ने जानकारी प्राप्त भएको जानकारी दिए । किसानले भुक्तानी पाउनु पर्ने बक्यौता रकम मिल संचालक र उखु उत्पादक कृषक संघको तथ्याङ्क भने फरक–फरक देखिएको छ ।

विगत ४ बर्षदेखिको उखुको भुक्तानीका लागि मिल संचालकबाट विगतमा विभिन्न सहमतिहरु भएपनि सहमति अनुसार मिलले काम नगर्दा किसानहरु पिडित बनेका थिए । भुक्तानी नपाउने उखु किसानहरुले खेतीपाती तथा आफनो घरव्यवहार मिलाउन समस्या भैरहेको बताउदै आएका थिए । तर, अहिले भुक्तानी पाउन थालेपछि घर व्यवहार मिलाउन निकै सहज भएको भन्दै खुशी जाहेर गरेका छन् ।

किसानहरुको बक्यौता रकम भुक्तानी दिएर आगामी उखु क्रसिङ्ग सिजनबाट मिललाई फुल फेजमा चलाउने मिल संचालको योजना रहेको छ । सोको लागि मिल र कम्पाउडको सरसफाई र मर्मतसम्भार कार्यपनि अगाडी बढाइएको मिलले जानकारी दिएको छ । विगत ३ बर्षदेखि बन्द रहेको उक्त चिनी मिल संचालनमा आउने भएपछि यहाँ रोजगारीको अवसर बढने र किसानहरुलाई निकै राहत हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?