पुरानै क्लबमा फर्किएका राष्ट्रिय टिमका पूर्व स्ट्राइकर अनिल गुरुङ भन्छन्, “मनाङ मस्र्याङ्दीका पदाधिकारीले अपमान गरे”

काठमाडौं । अनिल गुरुङ, नेपाली राष्ट्रिय टिमका पूर्व स्ट्राइकर । 

१३ वर्षको उमेरदेखि फुटबल खेल्न शुरु गरेका गुरुङसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुमिमा खेलको लामो अनुभव छ । पोखरा मालेपाटनका स्थायी बासिन्दा अनिल सफल फुटबलर समेत हुन् । 

१५ वर्षको युवावस्थामा नै पोखरा कै क्लब साहरा क्लबमा आवद्ध भएका उनले सिनीयर टिमबाट नै क्लबस्तरिय खेल खेले । सन् २००१ मा साहरा क्लबमा खेलाडीका रुपमा भित्रीएका उनले सिनीयर टिममा २५ खेल खेल्दै १२ गोल गरेका थिए ।

एक वर्ष साहरा क्लबबाट खेलेका उनले हालसम्म ८ वटा क्लबबाट व्यवसायिक क्लब खेल खेलिसकेका छन् । 

उनी सन् २००९ मा सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सर्बाधिक गोल गर्ने खेलाडी समेत बने । त्यतिबेला उनले खेलेको मनाङ मस्र्याङ्दी क्लबले ३२ गोल गरेका थिए । नेपालमा सम्पन्न भएको १० औँ साफ च्याम्पियनसिपमा अनिल उत्कृष्ट खेलाडी घोषित हुँदै ५० लाख रुपैयाँ हात पारेका थिए ।

साहरा क्लबबाट व्यवसायिक क्लब फुटबल खेलेका अनिल गुरुङ ब्रिगेड ब्वाइज, थ्रि स्टार, मनाङ मस्र्याङ्दी, एनआरटी क्लब, सिलोङ लाजोङ्ग क्लब, मनाङ मस्र्याङ्दी हुँदै हालै मात्र पुनः थ्रिस्टार क्लबमा आवद्ध भएका छन् । 

सन् २००७ देखि २०१७ सम्म राष्ट्रिय टोलीबाट खेल खेलेका उनले गत वर्ष मात्रै सन्यास लिएका थिए । उनले १० वर्षसम्म राष्ट्रिय टिमबाट ५० खेल खेल्दै १० गोल गरेका थिए । 

त्यस्तै, गुरुङले इंग्ल्याण्डको क्लब चेल्सीमा पनि ट्रायल दिएका थिए । चार महिना इंग्ल्याण्डमा प्रशिक्षण गरेका उनले ट्रायल भने पास गर्न सकेका थिएनन् । 

त्यतिबेला उनले भनेका थिए-‘नेपाललाई प्रतिनिधित्व गर्न पाउदा म धेरै खुसी छु, यदि म त्यहाँ छनोट भएन भने पनि दुखी हुने छैन्, उनीहरुले मलाई यो सम्मान दिएर ट्रायलका लागि बोलाइएको छ । म विदेशमा नेपाली खेलाडीहरु पनि प्रतिभावान छ भन्ने सावित गर्न चाहन्छु ।’

तर, विदेशी क्लबमा उनको खेल्ने इच्छा भने पुरा हुन सकेन । अन्ततः उनले नेपालकै ‘ए’ डिभिजन क्लबबाटै व्यवसायिक खेल खेले । 

सन्यास लिएको त्यो क्षण 

‘एएफसी’ एशियन कप छनोटको खेल अनिल गुरुङको लागि विशेष रह्यो । नेपालको लागि ५० औँ अन्तर्राष्ट्रिय खेल खेल्दै उनले अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्यास लिएका थिए । 

छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा ८१ औँ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अनिलले नेपालको लागि ५० औँ क्याप जिताए । गुरुङले कप्तानकै भुमिकामा अन्तिम खेल पनि खेले । मैदान छिर्ने बित्तिकै हालका कप्तान विराज महर्जनले अनिललाई आर्मब्याण्ड लगाइदिएर ‘रेस्पेक्ट’ दिए । 

त्यतिबेला नेपालले फिलिपिन्सविरुद्ध गोलरहित बराबरी खेल्दै अनिलको बिदाइलाई पनि सुखद बनाएको थियो । 

त्यतिबेला उनले भनेका थिए-‘म पहिले देखि मैदानमा कतिखेर प्रवेश गयौँ र खेल्यौँ भनेर उत्साहित भइरहेको थिए, ८१ औँ मिनेटमा मैदान प्रवेश गरे र खेल पनि राम्रै खेले’ । खेल सकिएपछि अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले अनिललाई कोर्ट र सम्मान पत्रका साथ बिदाई समेत गरेको थियो । 

सन्यास लिएपछि उनले नयाँ आउने खेलाडीलाई पनि राम्रो खेल्ने उत्प्रेरणा मिलेको तथा मौका दिनुपर्ने बताएका थिए । 

अनिलको उत्कृष्ट १० अन्तर्राष्ट्रिय गोल 

सन् २००७ को अक्टोबर ८ तारिखमा विश्वकप छनोटको ओमनविरुद्धको खेलमा मैदानमा प्रवेश गर्दै अनिल गुरुङले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए ।

त्यतिबेला भएको खेलमा नेपाल ओमनसँग २-० गोल अन्तरले पराजित भएको थियो । गुरुङ विश्वकप छनोटमा होम ग्राउण्डमा पहिलो गोल गर्ने नेपाली खेलाडी समेत हुन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलमा उनले गोल गरे ।

त्यस्तै, २००८ को अक्टोबर १५ मा अफगानिस्तानविरुद्धको खेलमा तथा २००९ मा भुटानविरुद्धको खेलमा पनि गोल गरेका थिए । उनले अफगानिस्तानसँग तीन खेल, भुटानसँग दुई, टिमोर लिस्टसँग दुई तथा पाकिस्तान र भारतसँगको खेलमा गोल गर्दै गोल संख्या १० पुर्‍याएका थिए ।

उनले फिलीपिन्ससँगको खेल प्रश्चात अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । 

फर्किए पुरानै क्लबमा 

अनिल गुरुङ लामो समयपछि पुरानै क्लबमा फर्किएका छन् ।

सन् २००५ मा पहिलो पटक थ्रि-स्टार क्लबबाट खेलेका उनी १३ वर्षपछि थ्रिस्टार क्लबमा फर्किएका हुन् । उनले मनाङ मस्र्याङ्दी क्लबसँगको सात वर्षको यात्रा यहि सातामात्र टुङग्याएका थिए । गुरुङले मनाङ मस्र्याङ्दी क्लबको पदाधिकारीको अपमान सहन नसकेर क्लब छाडेको बताए । 

सन् २०१० मा दोस्रो पटक मनाङमा आवद्ध भएपनि खेल जीवनको अन्त्य त्यहि क्लबबाट गर्ने घोषणा गरेका थिए । तर, पछिल्लो समय क्लबका सिमित पदाधिकारीले गरेको अपमानका कारण त्यहाँ बस्नु ठिक नलागेको उनले बताए । 
 

‘म सानै देखि मनाङको समर्थक रहेको थिएँ । पछि त्यहि क्लबमा खेल्नु मेरो लागि सपना पुरा भए बराबर हो,’ उनले भने, ‘मैले त्यहाँ रहँदा सबै उपाधि जितेपछि खुसी पनि लागेको छ । तर , पछिल्लो समय केहि पदाधिकारीले गरेको व्यवहार र अपमानका कारण त्यहाँ बस्नु उचित लागेन ।’

उनले आफु कप्तान रहँदैको अवस्थामा क्लबका महासचिव मुखिया लामा र अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रहेका विजय घलेको व्यवहार निकै दुःख लाग्दो रहेको समेत बताए । 

उनले दोस्रो पटक थ्री स्टारसँग जोडिन पाएको खुसी व्यक्त गरेका छन् । ‘थ्री स्टारको सम्मान प्रति आभार व्यक्त गर्दछु । मलाई थ्री स्टारले पहिला देखि नै प्रस्ताव गरेको थियो । तर म त्यति बेला आउन सकिन,’ उनले भने । 
गुरुङले सक्रिय खेल जीवनपछि फुटबल व्यवस्थापनमा जाने योजना समेत सुनाए । हाल उनी पाँच वर्ष सञ्चालन हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि तयारी गरिरहेका छन् ।

अनिलले नेपाली फुटबल क्षेत्रलाई केही हदसम्म भएपनि माथि उठाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । उनले दिएको योगदान नेपाली फुटबल क्षेत्रले सधै सम्झिरहने छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?