डुडुवामा गाउँपालिकास्तरीय स्वास्थ्यको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

लोकपथ
13
Shares

बाँके । बाँकेको डुडुवामा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ ।

डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा आज (आइतबार) आयोजित आर्थिक वर्ष २०७८/७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो ।

समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य अन्तर्गत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिबेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरणका क्रममा डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियतासँगै उत्कृष्ट कार्य गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

यस्तै, सभाको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको भन्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम ल्याउने बताए । उनले पालिकामा दुईवटा अस्पताल निमार्णको योजना रहेको भन्दै तीन स्थानमा सञ्चालित निःशुल्क प्रयोगशालालाई वृद्धि गरि ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताएका छन् ।

पालिकाले स्वास्थ्य र पशुलाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर विभिन्न सेवाहरु प्रदान गर्दै आएको अध्यक्ष चौधरीको भनाई छ । समुदायमा खटिने महिला स्वास्थ्य स्वयम् सेविका र आमा समुहले निःस्वार्थ रुपमा सेवा गर्दै आएकाले समुदायिक स्वास्थ्य सेवामा उनिहरुको ठुलो योगदानको रहेको पनि अध्यक्षले चौधरीले बताए ।

कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खा, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, वडा सदस्य, सबै स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयम् सेविकालगायतको सहभागिता रहेको थियो । सबै वडामा प्रवाह हुने स्वास्थ्य सेवाको प्रभावकारिता र समस्याका बारेमा जानकारी गराइएको थियो ।

प्रस्तुतीपछि भएको छलफल पश्चात उठेका विभिन्न समस्या तथा सवाललाई सम्बोधन गर्न आगामी वर्षका लागि वार्षिक कार्ययोजना समेत निमार्ण गरिएको स्वास्थ्य शाखा सह–संयोजक विरेन्द्र घलेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?