निजगढ नगरपालिकामा भएको तालाबान्दी तत्काल खोल्न राप्रपाको ७२ घण्टे अल्टिमेटम

लोकपथ
52
Shares

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टाभित्र ताला खोली काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो ।

विगत १४ दिनदेखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत कार्यपालिका सदस्य घमण्डका कारण नगरपालिकाबाट सर्व साधारणले पाउनुपर्ने सेवाबाट वञ्चित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य बिनोद भारतीले बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्गप्रसाद उप्रतीले तत्काल ताला खोलेर काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । यदि ताला नखोलेमा राप्रपा निजगढले ताला खोल्न र दुवै पक्षसँग आवश्यक समन्वय गर्न तयार रहेको बताए ।

उनीहरूले ताला खोल्ने, नियमित काम काज सुचारु गर्न र विभिन्न बहानामा गरिएको तालाबन्दीको विरोधसमेत गरेका छन् ।

राप्रपा निजगढले आज निजगढ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै राप्रपा निजगढले जनताको सेवा प्रवाहका लागि तालाबन्दी खोलेर वातावरण सहज गराउनसमेत निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकोटालाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?