धनुषा । प्रदेश प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदहरुले संघीय सरकारविरुद्ध धर्ना थालेका छन् । प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको हो ।
यसअघि साउन २२ मा मधेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो । तर, उक्त मागको सुनुवाइ नभएपछि धर्ना थालिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले आजदेखि एक साता प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन थालिएको हो ।
एक सातासम्म चल्ने धर्ना कार्यक्रम हरेक दिन दुई घण्टा चल्ने जनाइएको छ । पहिलो दिन आइतबार पौने १२ बजेदेखि पौने दुई घण्टासम्म चल्नेछ । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ ।
संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वोन्मुख देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया