जन्मदिनमा राष्ट्रकविलाई भेटिन् राष्ट्रपतिले

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् । एक सय वर्ष पुगेको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकविलाई भेट गरेकी छिन् ।

सय वर्ष पुगेका राष्ट्रकविले आफ्नो निवासमा पूजापाठ समेत गरेका थिए । केही महिनाअघि घिमिरे बिरामी भएर नेपालका केही अस्पताल र भारतमा समेत उपचार गराएका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

राष्ट्रकविलाई भेट्न बिहानैदेखि साहित्यकार, समाजसेवी र राजनीतिज्ञको भीड लागेको थियो ।

राष्ट्रकविको घरमा उपस्थित प्रशंसकले घिमिरको दीघार्युको कामना गर्दै विभिन्न उपहार दिए । यस्तै राष्ट्रपति भण्डारीले पनि घिमिरेलाई उपहारमा फूलको बुकी दिएकी थिइन् ।

कवि तथा गीतकार माधवप्रसाद घिमिरेको जन्म लमजुङको पुस्तुन गाउँमा भएको हो । उनी काठमाडौंको कपुरधारामा स्थायी रुपमै बस्दै आएका छन् । चर्चित राष्ट्रिय गीतदेखि महाकाव्य र कविता लेखेर नेपाली साहित्यलाई अझ फराकिलो बनाएका घिमिरे अहिले पनि लेखनमा सक्रिय छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?