वैदेशिक रोजगारी : बढाउँदै शंका, गुमाउँदै विश्वास

गत साउन ८ गते राती चितवनको रमाइलो चोकमा नरमाइलो घटना घट्यो । श्रीमान कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती रुष्मालाई खुकुरी प्रहार गरी हत्या गरे । श्रीमतीको हत्यापछि घरको तीन तला माथिबाट हाम फाल्दा कृष्णको पनि प्राण गयो । कृष्ण ६ वर्षदेखि रोजगारीका लागि साउदीमा थिए । उनी घरपरिवारलाई पत्तो नदिइ केही महिनाअघि नेपाल आए । नेपाल आएपछि श्रीमतीमाथि शंका गर्न थाले ।

यिनै हुन् चितवनमा ३५ वर्षीय श्रीमती रुष्माको ज्यान लिएर तीन तला माथीबाट हाम  फाली भाग्न खोज्दा मृत्यु भएका ४३ वर्षीय कृष्णप्रसाद – Anautho ...

शंकाले कहिलेकहीँ झगडाको रुप लिन्थ्यो । त्यसैले रुष्माले ३० असारमा श्रीमानले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । परिवारका सदस्यको रोहबरमा सहमति गरेर फर्किए । तैपनि, सम्बन्ध राम्रो नभएपछि उनीहरु सम्बन्धविच्छेदको तयारीमा थिए । तर, सबै सम्पत्ति रुष्माको नाममा थियो । त्यसैले उनले सम्पत्ति नदिने भनेपछि घटनाले हत्याको मोड लिएको हुन सक्ने आँकलन गरिएको छ । यद्यपि, कृष्ण र रुष्माको घटनाको मूख्य बिउ शंका नै देखिन्छ ।

तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका ४ सदस्य मृत भेटिए । गोरखा स्थायी घर भएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनीता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव फेला पर्यो । साथै, घटनास्थलमा प्रहरीले एउटा ‘सुसाइड नोट’ पनि फेला पार्‍यो ।

एकै घरमा परिवारका ४ सदस्य मृत प्रकरण : प्रहरीको आयो यस्तो निश्कर्ष -  Prabhav News

जसमा दिनेशले नै परिवारका तीनजना सदस्यको हत्या गरी आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । दिनेश रोजगारीका सिलसिलामा झण्डै १२ वर्ष कुवेतमा बसेर केही वर्षअघि मात्र नेपाल फर्किएका थिए ।
विदेशबाट फर्किएपछि दिनेश र सुनीताबीच राम्रो सम्बन्ध थिएन । दिनेशले सुनीतामाथि शंका गरी विभिन्न लाञ्छना लगाउँदै झगडा गर्दै आएका थिए । महानगरीय प्रहरी वृत्त बालाजुले समेत उनीहरुलाई तीनपटकसम्म मिलापत्र गरी पठाएको थियो ।

गत वर्ष पुस २५ गते टोखास्थित ग्रीन भिल्ला कोलोनीमा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा फेला परे । उमेशको शव ओछ्यानमा पल्टिरहेको थियो भने सुदीक्षा झुण्डिरहेको अवस्थामा फेला परेकी थिइन् ।

सुदीक्षाले श्रीमानको हत्या गरी आत्महत्या गरेको अनुसन्धानबाट खुलेको थियो । उनीहरूले ६ वर्षअघि प्रेम विवाह गरेका थिए । उमेश अमेरिका बस्थे । उनी फेरि अमेरिका फर्किने तयारीमा थिए ।

माथिका तीन घटनाले वैदेशिक रोजगारीले दम्पत्तिमा शंकाको विजारोपण गरिरहेको छ भन्ने पुष्टि गर्छ । स्वदेशमा रोजगारी अभाव, साहुको ऋण, बढ्दो महंगी, परिवारको दायित्व जस्ता कुराले धेरै युवाहरु विदेशिनु नेपालको तितो यथार्थ हो । वैदेशिक रोजगारीमा गइ धन कमाएर आफ्नो परिवारलाई सुख दिने धेरैको सपना हुन्छ । यस्ता सपना धेरैको अधुरो रहन्छ । जसले मनमा वैमनश्यता, शंकाको भावना आउने मनोविद्हरु बताउँछन् ।

साथै, वैदेशिक रोजगारीले आर्थिक हैसियत उकास्न सहयोग गरेपनि पारिवारिक र सांस्कृति विचलन भने ल्याउने गरेको देखिन्छ । यसका साथै धेरै यस्ता घटनाहरु छन् जसमा विदेशमा पसिना बगाएर कमाएको सम्पत्तिले नै पारिवारिक किचलो निम्त्याएका छन् । सम्पत्ति र पैसाले नै धेरै घरहरुमा विचलनको बीउ रोपिरहेका छन् । जसकारण गर्दा धेरै अपराधका घटनाहरु बाहिरिने गरेका छन् ।

भौतिक रुपमा टाढा भएपछि श्रीमान र श्रीमतीबीच आउने दुरीमा समाजले मल जल गर्दा त्यसले भयानक रुप लिने गरेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई बताउँछन् । ‘टाढा भएको बेलामा आउने मनमुटाव त छँदैछ,’ राई भन्दै थिए, ‘समाजका केही मानिसहरु श्रीमानको कुरा श्रीमती र श्रीमतीको कुरा श्रीमानसमक्ष लगाइदिने खालका हुन्छन्, जसले निकै विकराल अवस्था सृजना हुने गरेको छ ।’

वैदेशिक रोजगारीमा गएकाहरुको छोटो समयमै रहनसहन बदलिने र सामाजिक सञ्जालको धेरै प्रयोगका कारण पनि यस्ता समस्याहरु निम्तिने गरेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता टेकप्रसाद राई बताउँछन् ।

यता, समाजशास्त्री दीपक पोखरेल भने आधुनिकीकरण र प्रविधिको उच्चतम् प्रयोगले समाजमा नकारात्मक प्रभावहरु देखिएको बताउँछन् । ‘वैदेशिक रोजगारीका कारण आर्थिक पाटो सबल बनेपनि त्योसँग सामाजिक र मानसिक कुन्ठाहरु पनि सँगै आउने भएकाले सहरीकरण, खुल्ला मानसिक सोच, आमसञ्चारका माध्यमबाट भित्रिने विकृतिबाट समाज टाढा रहन सकेको छैन ।’

यतिमात्र होइन लोभ, स्वार्थ र शंका मानिसको स्वभाव नै हो । आँखा अगाडी नभएपछि मानिसहरुलाई विभिन्न शंका लाग्छ । यस्तोमा प्रतिनिधि घटनाहरुले झनै मल जल गर्ने काम गरेको पोखरेल बताउँछन् ।

त्यस्तै, मानसिक अस्पतालका निर्देशक तथा वरिष्ठ मनोचिकित्सक अनन्तप्रसाद अधिकारी आधुनिक जीवनशैली, निरन्तर संवाद नहुनु र अन्य सामाजिक कारणले दम्पत्तिमा शंकाको भावना सिर्जना गरिरहेको बताउँछन् ।

डिलुजनल डिसअर्डर अर्थात भूमपूर्ण विकारका कारण पनि मानिसहरुमा शंका गर्ने बानी बस्छ । मानिस आफैँमा शंकालु प्राणी भएकाले डिलुजनल डिसअर्डरको सिकार भएको खण्डमा मानिस झनै धेरै शंका गर्ने डा. अधिकारीको भनाई छ ।

‘जैविक, सामाजिक, मनोवैज्ञानिक प्रभावले पनि मानिसहरुमा नकारात्मक सोचको विकाश गर्छ,’ उनले भने, ‘अझै पनि मलाई ब्लड प्रेसर छ भन्न संकोच नमान्ने मानिसहरु मानसिक समस्याका बारेमा खुलेर भन्न नसक्ने स्थिती छ यो गहन विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?