वडाअध्यक्ष शाहीले ज्येष्ठ नागरिकको उपचारमा खर्चिए मासिक तलब

काठमाडौं । कैलालीमा एक वडा अध्यक्षले आफ्नो मासिक तलब रकम ज्येष्ठ नागरिकको उपचारमा खर्च गरेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष जगतबहादुर शाहीले मासिक तलबबाट आएको रकमले स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएका हुन् ।

दुईदिने आँखा शिविर सञ्चालन गरी वडामा बसोबास गर्दै आएका ४ सय ५० जना वृद्ववृद्दाको आँखाको चेकजाँच गरिएको वडा अध्यक्ष शाहीले बताए । उनले आफ्नो एक महिनाको मासिक तलब रकम २२ हजार रुपैयाँबाट स्वास्थ्य र सरसफाइका क्षेत्रमा खर्च गरेका हुन् । ‘मैले निर्वाचनका बेला आफूले पाउनुपर्ने तलबभत्ता जनताकै सेवामा खर्च गर्ने प्रतिबद्वता जनाएको थिएँ, उनले भने, ‘त्यसैले विजय भईसकेपछि मैले पाएको सेवासुविधाबाट जनतालाई सानो सेवा दिएको हुँ ।’

नेपालगञ्ज र पहलमानपुरबाट खटिएको ७ जना स्वास्थ्यकर्मीको टोलीले ग्रामीण स्तरमै पुगेर सेवा दिएको हो । उनीहरुले चेकजाँचसँगै आँखा रातो हुने, चिलाउने, टाउको दुख्ने, कचेरा आउने सामान्य समस्याका बिरामीहरुलाई औषधी वितरण गरेको र अलिक जटिल समस्या भएका तथा आँखाको मोतिबिन्दु, जलबिन्दु, मासु पलाएको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई यातायात सुविधासहित नजिकैको पहलमानपुर र धनगढीस्थित आँखा अस्पतालमा उपचारका लागि सम्पर्क गर्न स्वास्थ्यकर्मीले सल्लाह दिएको वडा अध्यक्ष शाहीले बताए ।

यसअघि वडा अध्यक्ष शाहीले निर्वाचित भए लगत्तै गाउँपालिकाले जनप्रतिनिधिका लागि दिएको सवारी साधन (मोटरसाईकल) समेत पालिकालाई नै फिर्ता दिएका थिए । उनले आफ्नो कार्यकालभरिमा सरकारी सवारी साधनको प्रयोग नगर्ने समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?