‘सृजनशील महिला उद्यमी मेला २०७९’ काठमाडौंमा सुरु, दश हजारले अवलाेकन गर्ने लक्ष्य

लोकपथ
65
Shares

काठमाडौं । ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल अन्तर्गत सृजनशील महिला उद्यमी मेला–२०७९’ आज (शुक्रवार)बाट सूरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड ट्रेड सेन्टरमा सूरु भएको मेलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले शुभारम्भ गर्नु भएको हो ।

महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको विक्रीवितरण गरिनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवर्द्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास गरेका छन् ।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित बस्तुहरुको उपयोग गर्न आम उपभोक्ताहरुलाई आह्वान गरेकी छन् । उक्त मेलाको अवलोकन गरेपछि उनले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै महिला दिदीबहिनीहरुले गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएको उल्लेख गर्दै विदेशी बस्तु भन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गरेकी थिईन् ।

मन्त्री रेग्मीले महिला दिदीबहिनीहरुले सञ्चालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोलाआदि प्रर्दशन गरिएको छ । मेलाको करिव १० हजार जना नागरिकले अवलोकन गर्ने अपेक्षा गरिएको पनि मेला व्यवस्थापक संस्था राईजिङ नेपाल प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?