स्थानीय तह निर्वाचनपछि कैलालीमा ११ हजार बढी मतदाता थपिए

काठमाडौं । कैलालीमा ११ हजार ४ सय ३० जना नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि जिल्लामा ५ हजार ६८७ पुरुष र ५ हजार ७४३ जना महिला गरि ११ हजार ४३० नयाँ मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका कार्यालय प्रमुख प्रेमराज भट्टले लोकपथलाई दिएको जानकारी अनुसारका बाहिरी जिल्लाबाट सरेका मतदाता नामावली र नया दर्ता हुन आएका मतदाताको संख्या थप भएको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेसंगै अहिले मतदाता नामावली संकलन कार्य बन्द भएको उनले बताए ।

निर्वाचनका लागि मतदाता नामावली मिलाउने, तथ्यांक रुजु गर्ने, निर्वाचन केन्द्र, निर्वाचन सामग्री तथा मतपेटिका पुग/अपुग हुने सम्बन्धमा चेकचाज गर्ने लगायत तयारीका कार्य भइरहेको कार्यालय प्रमुख भट्टले बताए । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म कैलालीमा ५ लाख २५ हजार १२५ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतदाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतदाता नामावली संकलन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा गरी चार स्थानबाट मतदाता नामावली संकलन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा १ हजार ५१२ पुरुष र १ हजार ३३६ महिला गरी कुल २ हजार ८४८ जना, प्रदेश निर्वाचन कार्यालयमा १ हजार ३३१ पुरुष र १ हजार ६८१ महिला गरी कुल ३ हजार १२ र इलाका प्रशासन कार्यालय टीकापुरमा १ हजार ५०८ पुरुष र १ हजार ३८२ महिला गरी २ हजार ८९० नयाँ मतदाता थपिएका हुन् ।

त्यस्तै, इलाका प्रशासन कार्यालय सुखडमा १ हजार ३३६ र १ हजार ३४४ महिला गरी २ हजार ६८० जना मतदाता थपिएका छन् । कैलालीमा एक मतदान स्थल पनि थप गरिएको छ भने तीन मतदान स्थल सारिएका छन् । जिल्लामा ११ हजार ४३० मतदाता सख्या थपिए पनि कुल मतदाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?