योग्य नागरिक बन्ने सपना सङ्गाल्दै दृष्टिविहीन छात्रछात्रा

–गोपालप्रसाद बराल
बर्दिवास-“हामी नेपाली, हामी सबैको नेपाल” आफूले ब्रेल लिपिले कापीमा लेखेको पङ्क्ति सस्वर वाचन गर्दै थिइन, महोत्तरी बर्दिवास–३ गौरीडाँडास्थित जनता माविका कक्षा चारमा अध्ययनरत् दृष्टिविहीन छात्रा सविना मगर ।

सविनासहित सात छात्रा र पाँच छात्रसहित १२ जना दृष्टिविहीन बालबालिका ब्रेल लिपि (दृष्टिविहिनले लेख्ने, पढ्ने लिपि) बाट यो विद्यालयमा अध्ययन गरिरहेका छन् ।

“मेरो नाउँ गरिमा दर्नाल हो, घर चाहिँ बर्दिवास नगरपालिका–२ बुद्धचोकमा छ” सविनाले आपूmले लेखेको ब्रेल लिपि पढेपछि सँगै बसेकी आठ वर्षीया अर्की दृष्टिविहीन छात्रा गरिमाले पनि आफ्नो परिचय समेटिएको आफैले लेखेको लिपि सस्वर वाचन गरिन् ।

विद्यालयमा उनीहरु (दृष्टिविहीन) को बसाइ प्रबन्ध र पठनपाठन हेर्न पुगेका सञ्चारकर्मीले आ–आफ्नो परिचय दिएलगत्तै दृष्टिविहीन छात्रछात्राले भने कापी र स्लेटमा स्टालस (दृष्टिविहीनले लेख्न प्रयोग गर्ने पेन्सिल) चलाउँदै लेखेका आ–आफ्नो नाउँ पढेर परिचय दिए ।

“हजुर, म चाहिँं कृष्ण महतो, १२ वर्षको भए, घर चाहिँं महोत्तरी गाउँपालिकाको पर्साटोल हो” अर्का छात्र कृष्ण महतो आफ्नो परिचय आफैले लेखेको ब्रेललिपिका अक्षर पढ्न निकै उत्सुक देखिए । “हजुर, म कक्षा ४ मा पढ्दैछु” कृष्णले परिचयलाई विस्तार गर्दै थपे ।

दृष्टिविहीन छात्रछात्राले आपूmहरुले नियमित रेडियो सुन्ने गरेको बताउँदै विभिन्न तहका सरकारले गर्छौ भन्ने गरेका कुरा अहिले व्यवहारमा तौलने गरेको बताएका छन् ।

“आमरुपमा यिनीहरुले के जान्या छन् भनिँदो हो, तर हामी योग्य नागरिक बन्ने बाटोमा छौं” आफ्ना सबै साथीको प्रतिनिधित्व गरेको शैलीमा सविनाले भनिन्, “हामी परिवार र समाजको बोझ हैन, केही गरेर देखाउने छौं ।” छात्रावास बसाइमा आपूmलाई धेरै कुरामा योग्य बनाउने प्रयास गरिरहेका सबै दृष्टिविहिनले साझा सङ्कल्प सुनाएका छन् ।

बर्दिवास–३ स्थित दृष्टिविहीनका लागि कक्षा सञ्चालनको स्वीकृति पाएको जनता माध्यमिक विद्यालय परिसरमै यिनीहरुका लागि नयाँ छात्रावास बनेको छ । तीनवटा सुत्ने, बस्ने कोठा, एउटा भान्सा कोठा, दुईवटा शौचालय र एउटा स्नानघर रहेको भवन परिसरमा अहिले १२ जना दृष्टिविहीन छात्रछात्रा बस्दै आएका छन् ।

यो छात्रावास भवन यसैपाली बर्दिवास नगरपालिकाको रु १२ लाख ६७ हजार, सेभ द चिल्ड्रेन (अन्तराष्ट्रिय गैरसरकारी संस्था)को रु पाँच लाख ४१ हजार, नेत्रहीन पुनःस्थापना कार्यक्रम महोत्तरीको रु तीन लाख र जनता माबि बर्दिवास–३ गौरीडाँडाको रु चारलाख ७६ हजार सहयोगसमेत कुल रु २५ लाख ८४ हजारको लागतमा बनेको बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले जानकारी दिए ।

सरकारले उपलब्ध गराउने वार्षिक रु ४० हजारबाट खानपिन र स्टेशनरीको व्यवस्था मिलाइएको दृष्टिविहीन छात्रछात्राका लागि खाना पकाउने, ख्वाउने, न्वाइध्वाइ र अन्य आवश्यक देखभालका लागि एक जना सहयोगी महिला पनि सरकारले नै व्यवस्था गरेको छ । यस बाहेक स्थानीय स्रोतमा छात्रावासमै एकजना ब्रेल लिपिको अतिरिक्त कक्षा पढाउने शिक्षिका छन्, सीमा नेपाल ।

छात्रावासमा छात्रछात्राका लागि छुट्टाछुट्टै कोठामा सुत्न, बस्न आ–आफ्नै खातको व्यवस्था छ । बिहान हातमुख धोएपछि दूध र बिस्कुट, मध्याह्नपूर्व खाना, दिउँसो खाजा र राति खानाको राम्रो व्यवस्था रहेको छात्रावासका छात्रछात्राले बताएका छन् ।

सामान्यत आपूmहरुको बसाइ व्यवस्थापन सुविधाजनक भएको बताउने यहाँका छात्रछात्राले ब्रेल लिपिको अभ्यास भने सबै विषयमा हुन नसकेको गुनासो गरेका छन् । “हामीलाई पढाइने सबै विषयको ब्रेल लिपिमा लेख्ने, पढ्ने अभ्यास चाहि गर्न पाइएको छैन” छात्रावासका छात्र गौरव दर्नालले भने, “छात्रावासमा मात्र गरिने ब्रेल लिपि लेख्ने र पढ्ने अवसरले मात्र सबै विषय समयमै सक्न गा¥हो हुने लागेको छ ।”

जिल्लाभर नेत्रहीन पुनःस्थापना कार्यक्रम महोत्तरीले गरेको लगत सङ्कलन र पैरवीबाट तीनवटा माध्यमिक विद्यालयमा गरी ३५ जना दृष्टिविहीन बालबालिका अध्ययनरत् छन् । जिल्लामा जनता मावि बर्दिवास–३ का अतिरिक्त भेरुखी माध्यमिक विद्यालय लोहारपट्टीमा १० र माध्यमिक विद्यालय बिसबिट्टीमा १३ सहित तीनवटै विद्यालयमा ३५ छात्रछात्रा रहेका नेत्रहीन पुनःस्थापन कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिइन् ।

गौरीडाँडामा दृष्टिविहीनका लागि अलग्गै छात्रावासको व्यवस्था भए पनि अन्य दुई विद्यालयमा छुट्टै छात्रावास नहुँदा त्यहाँको विद्यालय प्रशासनले सुरक्षाको प्रश्न उठाउँदै छात्रालाई भने बसाइको अनुमति दिएको छैन ।

“जिल्लामा धेरै प्रयत्नपछि ३५ जना दृष्टिविहीन बालबालिकालाई शिक्षाको उज्यालो घाम दिन खोजिएको छ” आफै पनि दृष्टिविहीन  रहेका  नेत्रहीन पुनःस्थापन कार्यक्रमका कार्यकारी निर्देशक राईले भने, ‘‘अझै उल्लेख्य सङ्ख्याका दृष्टिविहीन नानीहरु बाहिरीमात्र नभएर शिक्षाको उज्यालो दृष्टिबाट वञ्चित छन् ।’’ अब सबै स्थानीय तहले दृष्टिविहीन र अन्य अपाङ्गता भएकाका लागि शिक्षा केन्द्रित विशेष कार्यक्रम र योजना बनाउनु पर्ने कार्यकारी निर्देशक राईको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?