अत्याधुनिक प्रविधिसहितको टान बनाउने योजना छ : निलहरि बाँस्तोला

लोकपथ
39
Shares

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षका उम्मेद्वार निलहरि बाँस्तोलाले अध्यक्ष निर्वाचित भएमा ट्रेकिङ व्यवसायीहरुको हक हीतमा काम गर्ने टान बनाउने योजना रहेको बताएका छन् । टानको साउन ३० गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा आफू लगायत प्यानलसहित उम्मेदवारी मनोनयन दर्ता गराए पश्चात उम्मेद्वार परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ट्रेकिङ व्यवसायीहरुले खोजेको जस्तो नभएको भन्दै अहिले व्यवसायीहरुले चाहेको जस्तो टान बनाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्षका उम्मेद्वार बाँस्तोला आफूले नेतृत्व गर्न पाए ट्रेकिङ व्यवसायीहरुको हक हीतको लागि लड्ने, व्यवसायीहरुको संरक्षण र व्यवसायको हीतमा काम गर्ने बताउँदै दुई वर्षको कार्यकालमा टानको कार्य समितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई ट्रेकिङ व्यवसायीहरुको हीतमा लगाउन चाहेको बताए ।

बाँस्तोलाले पूर्व अध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने प्रविद्धता पनि व्यक्त गरेका छन् । टानको अध्यक्षमा निर्वाचित भएमा दुई वर्षको कार्यकालमा क्यालेण्डर वेसमा काम गर्ने र अत्याधुनिक प्रविधिको युगको अर्थात २०२२ को समयमा पनि ट्रेकिङ व्यवसायीहरुले चाहेको जस्तो टान हुन नसकेकाले अब व्यवसायीहरुले चाहेको टान बनाउने योजना रहेको बताए । उनले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् । अध्यक्ष पदमा कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता भएको छ । बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविननाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् । टानको ४४ औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन् । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा (एमाले) निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?