वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ५९ अर्ब ३२ करोड, नबिलको सबैभन्दा धेरै

लोकपथ
0
Shares

काठमाडौं । सञ्चालनमा रहेका २६ वटा बैंकहरुको वितरणयोग्य नाफा अर्थात आफ्ना सेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गर्न सक्ने नाफा ५९ अर्ब ३२ करोड रुपैयाँ देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७८-०७९ को लागि बैंकहरुको वितरणयोग्य नाफा ५९ अर्ब रुपैयाँभन्दा माथि देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार २०७८-०७९ मा वाणिज्य बैंकहरुले ७४ अर्ब ८० करोड रुपैयाँ खुद मुनाफा कमाएको भएपनि राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले खुद मुनाफाको सत प्रतिशत रकम लाभांशकोरुपमा वितरण गर्न पाउँदैनन् । खुद मुनाफा मध्येबाट झण्डै २० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने छ ।

त्यसपछि बाँकी भएको रकम मात्र लाभांशको रुपमा वितरण गर्न पाइने प्रावधान रहेको छ । सोही आधारमा आव २०७८-०७९ को खुद मुनाफा ७४ अर्ब ८० करोड रुपैयाँ मध्येबाट जगेडा कोषको लागि रकम छुट्याउँदा बैंकहरुको वितरणयोग्य नाफा ५९ अर्ब ३१ करोड रुपैयाँ मात्र कायम भएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७८-०७९ मा सबैभन्दा बढी वितरणयोग्य नाफा नबिल बैंकको रहेको छ भने सबैभन्दा कम वितरणयोग्य नाफा सनराईज र सेञ्चुरी कर्मसियल बैंकको रहेको छ । नबिल बैंकको वितरणयोग्य नाफा ९ अर्ब रुपैयाँ हुँदा सेञ्चुरीको ९१ करोड १८ लाख र सनराइजको २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

आव २०७८-०७९ मा कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य सहितका चार वटा बैंकहरुको वितरणयोग्य नाफा भने तीन अर्ब रुपैयाँ भन्दा माथि रहेको छ।

यी बाहेकका हिमालयन, एनएमबी, प्राईम कर्मसियल, एनआईसी एसिया, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट सहितका छ वटा बैंकहरुको वितरणयोग्य नाफा भने दुई अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कुमारी, मेगा, स्ट्यान्डर्ड चार्टड, नेपाल बैंक, एनसीसी, सानिमा, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, माछापुछ्रे बैंक, बैंक अफ काठमाडौं, लक्ष्मी बैंक र सिभिल बैंकसहितका १३ वटा बैंकहरुको वितरणयोग्य नाफा भने एक अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा (रकम रु हजारमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?