अभिनेता अनुपविक्रम शाहीसहित दर्जन बढी चलचित्रकर्मी कांग्रेसमा प्रवेश

लोकपथ
78
Shares

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’

साथै उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए । ‘धेरै अग्रज र सम्मानित कलाकारहरु कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई काँग्रेस मन परेको हो,’ उनले भने ।

उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए । अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?