विगतको चुनावी मत नै सिट बाँडफाँटको मोडालिटी, अर्काे बैठक साउन ३० मा बस्ने

लोकपथ
143
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय नगरी सकिएको हो । सत्ता गठबन्धनले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने मूख्य आधार विगतका निर्वाचनमा दलहरूलाई प्राप्त भएको मतलाई बनाउने भएका छन् ।

कार्यदलको बिहीबार बसेको बैठकमा सिट बाँडफाँटको आधार मतलाई मानेर जान सकिने गरी छलफल भएको छ । कार्यदलका सदस्य, नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले सिट बाँडफाँटका मोडालिटीबारे बिहीबार छलफल गरिएको बताए ।

दलहरूले २०७४ सालमा ल्याएको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका सिटलाई आधार बनाउने मोडालिटीबारे पनि छलफल भएको उनले बताए । बैठकपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सिट बाँडफाँटका आधारबारे छलफल भएको र सैद्धान्तिक रूपमा हामी सहमति नजिक पुगिसकेको बताए । उनले भने, ‘आ–आफ्नो दलभित्र छलफल गरी फेरि बैठक बस्ने कुरा भएको छ ।’

उनकाअनुसार साउन ३० मा फेरि कार्यदलको बैठक बस्दैछ । उनले विगतमा दलहरूले ल्याएका मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँटका लागि पार्टीका आधार प्रस्तुत गरेका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?