क्यान महासंघले झण्डै २ करोडको छात्रवृत्ति दिँदै

लोकपथ
65
Shares

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) ले विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा ३० वर्षदेखि कार्य गर्दै आईरहेको क्यान महासंघले राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन/अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

क्यान महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि छात्रवृत्ति वितरण गर्दै आएको जनाएको छ । सोही अनुरुप यसवर्ष पनि ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को आवेदन खुल्ला गरिएको क्यानले जनाएको हो । काठमाडौंको मैतीदेवीमा रहि विगत दुई दशकभन्दा बढी समय देखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउनुमा क्यानले टेवा पुर्याउँदै आएको जनाएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनीर्भसीटीअफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वी.एस.सी. आईटीको अध्ययन गर्न पाउनेछन् । नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने क्यान महासंघको भनाई छ । छात्रवृत्तिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रीय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिव शेखर दुलाल र दिपेन्द्रकुमार सिंह तथा केन्द्रीय सदस्य सरिता सिंह र भिम मल्ल रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा भदौ १० गते हुनेछ भने भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम तय गरिएको छ ।

छात्रवृत्ति मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सूचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा र व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले बताए ।

सूचना प्रविधि क्षेत्रको अग्रणी एवम् छाता संस्था क्यान महासंघसँगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक तथा निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ईन्जिनियर पंकज जालानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?