सिरहामा प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी

लोकपथ
143
Shares

सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो ।

तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारी मोटो रकम दिई (महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानियहरु बताउँछन् । सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पुर्‍याउने गरेको आरोप छ ।

‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेको छ,’ स्थानीय दिपेन्द्र यादवले बताए ।

उनले थपे, ’सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहरूले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल) भित्र्याइन्छ र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारि (भारतीय बजार) पुर्‍याइन्छ ।’

वरियारपट्टिका स्थानीय अरविन्द यादवका अनुसार यस नाकाबाट रातभरि (भारतीय बजार) पारिबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहाको ठूलो बजार लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ ।

‘सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएको छ । प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासो दिएका छैनन् ।’

गत बुधबार माडर भन्सार नाकाबाटै करिब एक लाख बराबरको भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिरहा–चोहर्वा सडक खण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइलक यात्रीलाई ठक्कर दिएको थियो । साइकलमा सवार सिरहा नगरपालिका-२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छाडेर तस्कर फरार भए । दुर्घटनाको खबर पाएपछि घटना स्थलपुगेका विष्णुपुर प्रहरी चौकीले कारभित्रबाट तीनवटा बोरामा रहेको कपडा बरामद गरेको थियो । प्रहरीले बरामद गरेको कपडाको मूल्य ७६ हजार ६०० र कारको १५ लाख गरी १५ लाख ७६ हतजार रुपैयाँसहितको मुल्यांकन प्रतिवेदन भन्सारलाई बुझाएको छ ।

माडर नाकाबाटै भित्रिएका उक्त कार र तस्करीका सामानसहितको लागत माडर भन्सारमा पाइएनन् । गत आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको रेकर्ड नरहेको कार्यालयले स्वीरेको छ । यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाकाबाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेको बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले जनाए । ‘यो थोरै मुल्यको सामान थियो । यस्ता कुरामा नलाग्नुस् । यस्ता धैरै कामहरू हुन्छ । यो सानोतिनो कुरोमा अल्झिएर काम छैन,’निरीक्षक उप्रेतीले भने ।

तस्कर भइरहेको विषयमा जानकारी लिन खोज्दा सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले भने, ‘थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता छैन’ सिरहा, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने अवैध सामान मिर्चैया, सिरहा र गोलबजारस्थित तस्करहरूको गोदामसम्म सहज रुपमा पुग्नु र यसप्रति प्रहरी गम्भीर नबन्नु तथा थोरै सामान रहेको भन्दै पन्छिन खोज्नुले स्थानीयले मिलोमतोको आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?