प्रधानन्यायाधीश विरुद्धको महाअभियोग संसदबाट टुंगो लाग्छ : वर्षमान पुन

लोकपथ
117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग संसदबाट टुंगो लाग्ने बताएका छन् ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् ।

संसदबाटै महाअभियोगको टुंगो लाग्ने गरि अघि बढाइएको स्पष्ट पार्दै उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए ।

उनले तीन महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै महाअभियोग अघि बढाइएको जानकारी दिए । उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रक्रियामा गइसकेको छ । समिति पनि पहिले नै गठन भइसकेको छ । समितिमा छलफल गरेर समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु जुन उसको जिम्मेवारी छ, त्यो छिटै पूरा गरेर सिफारिस गर्छ भन्ने हाम्रो अपेक्षा छ ।’

सांसद पुनले आगामी प्रदेश र संघीय सदस्यको निर्वाचनमा २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार मानेर पनि सिट बाँडफाँट हुने बताए । उनले पार्टीहरुका गम्भीरता र संवेदनशीलतालाई हेरेर र गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्न लागेको पनि बताए ।

सांसद पुनले अहिलेको संसदमा कुनै न कुनै रुपले प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी दिने वा सम्बन्धित पार्टीले त्यो क्षेत्रमा दाबी गर्नेकुरा स्वभाविक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?