अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदूपयोग गर्नुपर्छ : ओली

लोकपथ
91
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदूपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

सामूदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे । सामूदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।

उनले भने, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्‍यो । र, त्यसको सदूपयोग पनि हुनुपर्‍यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनु पर्दछ । हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदिकुरा देखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ । तिनीहरुका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ । सामूदायिक वनमार्फत् राज्यलाई पुर्‍याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिंगो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदूपयोग गरेको अघि बढदा सिंगो मानवजातिकै हित हुने धारणा पनि राखे। उनले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?