परराष्ट्रमन्त्रीको चीन भ्रमणमा नेपालले धेरै फाइदा लिनुपर्छ : झलनाथ खनाल

लोकपथ
156
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्रीको चीन भ्रमणबाट देशले धेरै फाइदा लिनुपर्ने बताएका छन् । नेता खनालले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने  बताएका हुन्।

परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागिसमेत पहल गर्नुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री खनालले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।

साथै, उनले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट गर्नुपर्ने बताउन तथा नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई निवास बालुवाटार पुगेका उनले सो कुरा बताएका हुन् ।

उनले गठबन्धनमा अहिले दलहरु थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताउँदै प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सीट बाँडफाँट गर्न आवश्यक रहेको बताए ।

उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताएका छन् । वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनैपनि वृहत वाम एकताको सम्भावना नरहेको पनि खनालको दाबी छ ।

पूर्व प्रधानमन्त्री खनालले भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसावले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तर हीन भएको प्रतिवेदन बुझाएको भन्दै त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न्को लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको बताए । प्रधानमन्त्रीले यसबारेमा आफू गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?