प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
130
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हरेफेर गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला) ले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बपेत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले “दोस्रो जनआन्दोलन २०६२÷०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई नेपालको संविधानले पनि स्वीकार गरेको परिवेशमा संविधान कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागिता नभएकोले आगामी निर्वाचनमा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकोले” भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गर्ने ।

प्रतिनिधि सभा सदस्य अमृता थापाले “नेपालको संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको विषयलाई सुनिश्चितताको लागि संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन हाल निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी कानून संशोधनको एकीकृत मस्यौदा तयारीको लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन गरकोले प्रतिनिधिसभामा समेत यस विषयमा छलफल गरी संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने, स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तिमा पचास प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्ने लगायतका सुझावहरु दिन अत्यावश्यक भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी सांसद लक्ष्मी परियारसहित ११ जना सदस्यहरुले उक्त प्रस्तावको समर्थन गर्नुहुने कार्यसूची रहेको छ ।

बैठक बिहान ११ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?