ठेकेदारलाई तह लगाउने भौतिकमन्त्री राईको चेतावनी

लोकपथ
91
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी कार्य गरिरहेको र बिस्तारै ठीक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम नसक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए । सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने उनको भनाई थियो ।

अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताउँदै मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै, सार्वजनिक यातायातमा लागू गरिएको भाडादरका बिषयमा बोलेका उनले सरकारले लगाएको वैज्ञानिक भाडादरमा बेथिति नभएको बताएका छन् । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भईरहेको दाबी गरे । कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको उनले बताएका छन् । वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको राईको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?