आदिवासी र जनजातिको हितका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

लोकपथ
104
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताएका छन् ।

२८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताए ।

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ । नेपालको संविधानले आदिवासी, जनजाति समूदायको विकास र समृद्धिको लागि छुट्टै आयोगको व्यवस्था गरेको छ । सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । आदिवासी-जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरी आदिवासी, जनजातिहरुको पहिचान गर्ने, उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने काम मेरो नेतृत्व रहेको यस अघिको सरकारले नै गरेको स्मरण गराउन चाहन्छु । आज आदिवासी, जनजातिको पहिचानलाई उनीहरुलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ । राज्यका हरेक तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी रुपमा आत्मसात गर्दै राष्ट्रको विकास र समृद्धिका लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ । नेपालको सबैभन्दा ठूलो समूदाय आदिवासी, जनजातिको सर्वाङ्गिन विकास गरेर मात्रै नेपालको समृद्धिको सपना यथार्थमा परिणत हुने भएकाले यस कुरालाई आत्मसात गरी काम गर्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?