तलब वृद्धिमा असमानता भएको भन्दै कर्मचारी संगठनको असन्तुष्टि, भेटे अर्थमन्त्री शर्मा

लोकपथ
832
Shares

काठमाडौं । राष्ट्रसेवक कर्मचारीहरुको तलब असमान तरिकाले वृद्धि गरिएको भन्दै विभिन्न कर्मचारी संगठनहरुले असन्तुष्टि जनाएका छन् ।
विभिन्न ५ कर्मचारी संगठनहरुले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरी त्यसविषयमा ध्यानाकर्षण गराएका छन् ।

बजेट भाषण भन्दा फरक तरिकाले कर्मचारीहरुको तलबमान असमान तरिकाले वृद्धि गरिएको र त्यसलाई सच्याउन मागसहित विभिन्न कर्मचारी संगठनका अध्यक्षहरुले अर्थमन्त्रीसँग माग गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले लगायतले अर्थमन्त्री शर्मासँग भेटेका थिए ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सरकारले बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । साउन १ गतेबाट राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको भन्दै विरोध भइरहेको छ ।

कर्मचारीहरुको तलबमा असमान वृद्धि गरिएको भन्दै नायब सुब्बाहरुले सिंहदरबार भित्र निरन्तर आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?