असार १५ गते खाेटाङमा गएकाे भूकम्पको क्षति आकलन गर्न सर्वेक्षण सुरु

लोकपथ
52
Shares

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर गएको ५ मेग्नेच्युडको भूकम्पको क्षति आकलन सर्वेक्षण सुरु गरिएको छ । गत १५ साउनमा गएको भूकम्पका कारण पुगेको क्षतिको विवरण संकलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षति आकलन सर्वेक्षण सुरु गरेको हो ।

भूकम्पको इपिसेन्टर मात्तिमविर्ता बाहेकका प्रभाव क्षेत्र छुट्याउने, बढी क्षति भएका र कम क्षति भएका घरको संरचना बारे अध्ययन गर्ने, क्षति पुगेका घरको ‘रि–कन्ट्रकसन र रिकभरी’ लगायतका बारेमा अध्ययन गर्दै क्षति आकलन सर्वेक्षण सुरु गरिएको राष्ट्रिय आवास तथा वस्ती उत्थानशील समन्वय मञ्चका इन्जिनियर प्रकाश बस्नेतले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट क्षति आकलन सर्वेक्षण सुरु गरेको हो । भूकम्पको इपिसेन्टर साकेला गाउँपालिकामा क्षति आकलन सर्वेक्षणका लागि आइतबार प्राविधिक सहितको टोली पुग्ने जनाइएको छ ।

टोलीले हलेसी तुवाचुङ नगरपालिकामा पनि भूकम्पको क्षति आकलन सर्वेक्षण गर्नेछन् । टोलीले तयार पारेको प्रतिवेदनका आधारमा सरकारले भूकम्पीय पुनस्निर्माणको सन्दर्भमा निर्णय गर्ने इन्जिनियर बस्नेतले बताए । करिब १० दिनमा भूकम्पको क्षति आकलन सर्वेक्षणको काम सकिने प्राधिकरणले जनाएको छ ।

क्षति आकलन सर्वेक्षणका लागि आएको टोलीले भूकम्पको क्षतिका विषयमा आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि तथा दलका नेतासँग छलफल गरेको छ । छलफल कार्यक्रममा नगरका १५ वडामध्ये उपलब्ध वडाध्यक्षले भूकम्पका कारण भएका क्षतिको विवरण प्रस्तुत गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा दुई घर बस्नै नहुने अवस्थामा पुगेको, केही मन्दिर तथा भवन चर्केको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा २६ घर चर्किएको विवरण प्राप्त भएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा १३ जनाको आवेदन आएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा दुई सयको आवेदन परेको जानकारी दिइएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ११ घर, तीन विद्यालय र एक मण्डलीमा क्षति पुगेको मुचुल्का तयार पारिएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा आवेदन संकलन भइरहेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा ३५ जनाको आवेदन परेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा ४८ जनाको आवेदन गरेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा २७ जनाको घर चर्किएको जानकारी दिइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा १३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ५२ जनाको घरमा क्षति पुगेको वडाध्यक्षहरूले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?