अस्कर अवार्डमा नेपालबाट ‘पञ्चायत’ पठाइने

काठमाडौं । यस वर्षको 'अस्कर अवार्ड'का लागि नेपालबाट पञ्चायत पठाइने भएको छ । एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसले सन् २०१९ मा गर्न लागेको विदेशी भाषी सर्वोत्कृष्ट अवार्डको प्रतिस्पर्धाका लागि शिवम् अधिकारी निर्देशित फिल्म ‘पञ्चायत’ छनोटमा परेको हो ।

नेपालमा ओस्कार छनोट समितिले सहभागिताका लागि दर्ता आह्वान गरेको थियो । उक्त सीमाभित्र चलचित्र ‘तान्द्रो’, ‘पञ्चायत’ र ‘माइ लभ प्रमिस फर काठमाडौं’ दर्ता भएका भएका थिए । उक्त तीनमध्ये ‘पञ्चायत’ लाई छानिएको छनोट समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तीनवटा चलचित्रहरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल) द्वारा चलचित्र “पञ्चायत”लाई छनौट गरिएको छ ।’ 

छनोट समितिको संयोजकमा बिमल पौडेल थिए भने प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लाेकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाईं छनोट समितिका सदस्य रहेका थिए ।

चलचित्र ‘पञ्चायत’ मा नीता ढुंगाना, सरोज खनाल, जाह्नी बस्नेत, रुपा राना, विशाल पहारी, गणेश गिरी लगायतका कलाकारको अभिनय रहेको छ । पञ्चायतकालीन समयको यो कथामा यौनमनोविज्ञान र त्यसले पारेको प्रभावलाई फिल्ममा कथा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?