नुवाकोटको पुरानै क्षेत्रबाट चुनाव लड्ने नेता केसीको तयारी

लोकपथ
5.4k
Shares

नुवाकोट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाको क्षेत्र नं २ बाट निर्वाचन लड्न तयार रहेको बताएका छन् ।

शनिबार विदुरमा प्रजातान्त्रिक विचार समाजको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले जिल्लाका अरु नेताले हिम्मत गरेमा आफू मुलुकको जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार रहेको तर त्यसो नहुँदा आफ्नो पुरानै क्षेत्र अर्थात नुवाकोट क्षेत्र नं २ बाट चुनाव लड्ने बताए ।

कांग्रेसका केन्द्रीय स्तरका नेताहरुले जिल्लाको कुनै क्षेत्रमा दाबी प्रस्तुत गर्नु स्वाभाविक नभएपनि उक्त कुरा आफ्नो हकमा मात्र लागु नहुने स्पष्ट पारे । उनले महिला र युवाहरुको समूचित प्रतिनिधित्व गराउँदै उमेदवार छान्न अरु नेताहरु तयार भए आफू बाधक नबन्ने समेत बताए ।

नेता केसीले सत्ता गठबन्धनले तयार गर्ने आधारहरुलाई केन्द्रमा राखेर उमेदवारी तयार गर्न नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने चारैजना केन्द्रीय सदस्यमा कुनै विवाद नरहने बताउँदै तर पार्टी हितलाई नसोचेर व्यक्तिवादी प्रवृत्तीलाई बढावा दिईए त्यो आफ्ना लागि सह्य नहुने चेतावनी समेत दिए ।

सोही कार्यक्रममा बोल्दै कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले अबको निर्वाचन मुलुकको लोकतन्त्रको स्थायित्वका लागि हुने भएकाले सम्पूर्ण पार्टी पंक्ति एक भएर प्रतिपक्षका विरुद्ध क्रियाशिल हुनुपर्नेमा जोड दिँदै गठबन्धन समयको माग भएकाले यस सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा वरिष्ठ अर्थशास्त्री डा. नारायणनरसिंह खत्रीले आर्थिक समाजवाद सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, सचिव श्रीराम श्रेष्ठ, समाजका उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याल, बेलकोटगढी कांग्रेस अध्यक्ष लेखनाथ मुडभरी, पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, शिक्षक संघका अध्यक्ष द्वारिकाप्रसाद पाण्डे, पूर्व अध्यक्ष रामबहादुर थापा, समाजकी मञ्जु चित्रकार लगायतले समाज विकासमा प्रजातान्त्रिक विचारहरुको सान्दर्भिकताका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?